साझा र विवेकशीलको दोस्रो पटकको एकता आज : के-के छन् सहमति ?

काठमाडौं – सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी विवेकशील नेपाली दल र साझा पार्टीबीच आज (बुधबार) दोस्रो पटक एकीकरण हुँदैछ ।

विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी दुवै पार्टीबाट बराबर सहभागिता रहनेगरी मिलाइएको बताइएको छ ।

आज (बुधवार) बिहान १० बजे साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

साझा पार्टीका संयोजक रविन्द्र मिश्रका अनुसार अपराह्न साढे ३ बजे भर्चुअल रुपमा एकीकरणको घोषणा गर्ने तयारी गरिएको छ ।

पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।

के – के छन् सहमति ?

एकीकृत पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । यद्यपि, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

तर विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् । (फाईल फोटो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?