काठमाडौं । राष्ट्रिय योजना आयोगले मन्त्रालयहरुको आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक प्रगति समीक्षा गरिरहेको छ । राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासिक प्रगति समीक्षा गर्दै आवश्यक सुझाव र निर्देशन समेत दिएको छ ।
बैठकको दोस्रो दिन मंगलबार कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति गरेका छन् ।
बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन तथा वातावरणका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेलबासे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव कमल प्रसाद भट्टराई, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुन्ठ अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाले आ–आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरुको बारेमा छलफल तथा विश्लेषण गरी समाधानका लागि उपयूक्त सुझाव तयार गर्ने, समस्याग्रस्त र विशेष रुपमा अनुगमन गर्नु पर्ने कार्यक्रम तथा आयोजनाहरुको पहिचान गरी तिनीहरुको कार्यान्वयनको लागि गति प्रदान गर्न आवश्यक निर्देशन दिने, केन्द्रीयस्तरमा अनुगमन एवम् अन्तरमन्त्रालय तथा निकाय समन्वय, गरीबीको अवस्थाका वारेमा गरिने सर्वेक्षण, तथ्याङ्क संकलन, विश्लेषण तथा राष्ट्रियस्तरको प्रतिवेदन तयारी सम्बन्धमा आवश्यक मार्गदर्शन दिने, राष्ट्रिय योजना आयोग तथा मन्त्रालयहरुबाट प्रभाव मूल्याङ्कन गरिने सम्भाव्य नयाँ कार्यक्रम तथा आयोजनाहरुको सिफारिस गरिने कडेलले जानकारी दिए ।
बैठक मंसिर २२ गते शुरु भई २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया