सगरमाथाको उचाइ सार्वजनिकरण समारोह : राष्ट्रपति भण्डारीले के पठाएकी थिइन् सन्देश ?

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुवै देशका लागि संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

८६ सेन्टिमिटरको वृद्धिपश्चात् अहिले सगरमाथाको उचाइ ८८४८.८६ मि कायम भएको छ ।

सार्वजनिकरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्री ज्ञवाली मार्फत् चीनका राष्ट्रपति सी चिनफिङलाई सन्देश पठाएकी थिइन् ।

राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति चिनफिङलाई पठाएको सन्देशमा चीन र नेपाल असल मित्र, निकट छिमेकी र विश्वसनीय सहयात्री भएको उल्लेख गरिएको छ ।

‘वर्षौंदेखि समझदारी, आपसी सहयोग, सहकार्य मार्फत् पारस्परिक सम्बन्ध कायम गर्दै आएका चीन र नेपालले शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्त आत्मसाथ गर्ने मात्र होइन असल मित्रता पनि स्थापित गर्दै आएका छन्,’ राष्ट्रपतिलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘आर्थिक विकासको क्षेत्रमा एकअर्कासँग यसैगरी हातेमालो गर्दै शान्ति, समृद्धि र स्थीरता कायम गर्न सकिनेछ भन्ने कुरामा म विश्वस्त छु ।’

सन्देशमा राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड जस्ता महत्कांक्षी परियोजनाले दुई देशको व्यापारव्यवसाय देखि आवतजावतमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गरिन् ।

सन् २०१९ मा आफ्नो चीन भ्रमण र सी चिनफिङको नेपाल भ्रमण सम्झिँदै उनले दुई देशबीचको मित्रता र कुटनीतिक सम्बन्धविस्तारमा भ्रमणले महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरिन् ।

सगरमाथाको उचाइ अहिले ८८४८.८६ मि पुगेको छ । अबदेखि यही उचाइलाई आधिकारिक मानिने छ । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ ८८४८ मिटर मापन गरेको थियो जसलाई हामी अहिलेसम्म आधिकारिक मान्दै आएका थियौं ।

नेपालले आफै सगरमाथाको उचाइ मापन गरेको यो इतिहासमै पहिलो पटक हो ।

यसअघि लोकपथमा प्रकाशित समाचार पढ्नुभएको थियो ?

बढ्यो सर्वोच्च शिखर सगरमाथाको उचाइ, यसरी कठिनाईसँग जुध्दै नापेको थियो नेपाली टोलीले(हालसम्मको विवरणसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?