मिस नेपाल-२०२० नम्रता श्रेष्ठ भन्छिन्, ‘सानोमा कागजको क्राउन पहिरिएको थिएँ’

काठमाडौं – ‘मिस नेपाल – २०२०’ को ताज पहिरिएकी नम्रता श्रेष्ठले आफूले मिस वर्ल्डमा जाने सपनाको कारण सानो छँदा कागजको क्राउन समेत पहिरिएको बताएकी छिन् ।

‘द हिडेन ट्रेजर’ ले हिजो (शनिबार) आयोजना गरेको अन्तिम प्रतिष्पर्धामा २१ जना प्रतिष्पर्धीलाई उछिन्दै काठमाडौँकी २३ वर्षीया श्रेष्ठले मिस नेपाल २०२० को ताज पहिरिएसँगै पहिलो प्रतिक्रिया दिँदै यस्तो खुलासा गरेकी हुन् ।

लिभोन नेपालको च्यानलसँग कुराकानी गर्दै मिस नेपाल – २०२० श्रेष्ठले मिस नेपालको ताज पहिरीन्छु भनेरै दोस्रो पटक प्रतिष्पर्धामा भाग लिएको बताईन् ।

उनले भनेकी छिन्,  “म एकदमै खुसी छु । विश्वास नै लागिरहेको छैन । मिस नेपालको क्राउन पहिरिँदासम्म पनि मलाई शून्य भएको भाव आएको थियो ।”

प्रश्नकर्ताले रिफ्रेन्स दिँदै सोध्छिन् – ‘बच्चाबेलामा यहाँले भन्नुभएको थियो रे मम्मी म मिस वर्ल्डमा जान्छु । तपाईको त्यो सपना पूरा भएको छ ।’

प्रश्न सुनेसँगै उत्साहित हुँदै मिस नेपाल नम्रता श्रेष्ठ सेयर गर्छिन्, “मलाई यो अविश्वसनिय खुसी साट्न पाउँदा खुसी लागेको छ । म सानो हुँदा मिस वल्डको भन्दै कागजको क्राउन समेत बनाएर लगाउँथे ।”

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई अहिलेको स्थानमा राख्न र अझ अगाडी लैजान मेरो हरसम्भव प्रयास हुनेछ ।

अब मलाई आशा छ – ”अनुष्का दिदीले मलाई सहयोग गर्नुहुनेछ ।”

उनले आफ्नो जीवनको एक रमाईलो किस्सा समेत सुनाएकी छिन् ।

२०१६ मा अस्मि श्रेष्ठले मिस नेपाल जितेपछि उसको रुममा गएको थिएँ । अस्मीले टेबुलमा क्राउन राखेको थियो । अस्मी म तिम्रो क्राउन लगाउँछु है भनेर सोधेर मागे । उत्साहित हुँदै लगाएँ पनि । तर एक सेकेण्डपनि मैले मेरो टाउकोमा त्यो क्राउन राखीन । मलाई त्यतिबेला जितेर मात्रै लगाउँछु भन्ने भयो र त्यो क्राउन मैले लगाएकी थिईन । टेबुलमा नै राखिदिएँ ।

मिस नेपाल नम्रताले भनेकी छिन्, “म चारवटा टाईटलमा कुनै एक जित्छु भन्ने पूर्ण विश्वासमा थिएँ । तर सन्ध्यालाई नबोलाउँदासम्म उसैले मिस नेपाल जित्छिन् भन्ने लागिरहेको थियो । नम्रताले मिस नेपाल इन्टरनेशनल सन्ध्याको नाम लिँदै भनेकी छिन् – जब सन्ध्याको पनि नाम आएर उनी ताजको लागि गईन् त्यसपछि मलाई के गरौँ कसो गरौँ भयो । मेरो नाम उद्घोषण हुँदा मैले दायाँबायाँ हेरेँ । भगवान् भरोसामा बसेकी थिएँ । एकदमै खुसी भएकी छु ।”

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाइन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन पाउनेछिन्। प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाए । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाए ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?