नेपालको सबैभन्दा ठूलो साधारण शेयर (आइपीओ) पौषमा आउन सक्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो जारी पूँजीको ४० प्रतिशत साधारण शेयर निष्कासनको अनुमती माग्न धितोपत्र बोर्ड पुगेको छ । बैंकका अनुसार ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्कासनको अनुमती धितोपत्र बोर्डसँग माग गरेको छ ।

स्वीकृत भएको अवस्थामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ नेपालको इतिहासमै सबैभन्दा ठूलो सावित हुनेछ । बैंकले पौष महिनाभरीमा आइपीओ निष्कासन तथा बाँडफाँड गरिसक्ने योजना बनाएको छ ।

बैंकको दोस्रो साधारण सभाबाट ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्कासन स्वीकृती भइसकेको छ । आइपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक नेपालको पुर्वाधार विकासमा बैंकिङ्ग सेवा पुर्‍याउने लक्ष्यले स्थापना भएको हो । सडक सञ्जाल, जलविद्युत प्रोजेक्टहरुमा यस बैंकको लगानी रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा १२.४३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?