मालपोतका कर्मचारीबाट पत्रकारमाथि कुटपिटको घटनाबारे बोल्यो महासंघ

काठमाडौं । झापा जिल्लामा ४ पत्रकारहरुमाथि भएको दुर्व्यवहार र कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ ।

मंसिर १६ गते मालपोत र भन्सार कार्यालयमा समाचार संकलनका लागि गएका पत्रकारहरुमाथि आक्रमण भएको थियो ।

महासंघ झापा शाखाका अनुसारसमाचार संकलनका लागि मालपोत कार्यालय दमक पुगेका अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे र क्यामरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोतका कर्मचारी इन्द्र राजवंशीले एक सेवाग्राहीसँग घुस लिइरहेको भिडियो खिचिरहेको अवस्थामा राजवंशी लगायतका व्यक्तिहरुले आक्रमण गर्नुका साथै क्यामेरा खोसेका थिए ।

यसैगरी मंसिर १२ गते न्यूज २४ का झापा जिल्ला संवाददाता राजु पौडेल र पत्रकार नारायण अर्याललाई भन्सार छलीसम्बन्धी समाचार संप्रेषण नगर्नका लागि ५० हजार घुस दिँदा नलिएको भन्दै भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले पत्रकारद्वयलाई दुर्व्यवहार गरेका थिए ।

नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको महासंघले जनाएको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको कुटपिट र दुर्व्यवहारको घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो ।

महासंघ प्रेसको संवैधानिक अधिकारमाथि आघात पुग्ने यस्ता घटनाको कडा शब्दमा भर्त्सना गरेको महासंघले जनाएको छ।

साथै घटनामा संलग्न कर्मचारीहरुमाथि कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?