विविधताभित्र समानता खोज्न अन्तरनगरबीच भगिनी सम्बन्ध

काठमाडौं । दुई नगरबीचको सम्बन्धलाई थप उचाइमा पुर्याइ विविधताभित्र समानता खोजी पर्यटन र पर्यावरणीय सम्बन्धलाई बलियो बनाउन भगिनी सम्बन्ध आवश्यक रहेको बताइएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र जुम्लाको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भेटका क्रममा आज सो कुरालाई जोड दिएका हुन् । भेटका क्रममा प्रमुख शाक्यले काठमाडौंमा धेरै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा रहेको र कर्णालीको दुर्गम नगरपालिका चन्दनाथबीच भगिनी सम्बन्ध स्थापना गर्ने कुरा सकारात्मक रहेको बताए ।

महानगरपालिकाले विश्वका १६ नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । पाकिस्तानको इस्लामावाद र थाइल्याण्डको बैंकक प्रक्रियामा छन् । अन्तरराष्ट्रिय सम्बन्धसँग देशभित्रकै पालिकासँगको सम्बन्धको विषय जोड्दै प्रमुख शाक्यले सङ्घीयतालाई सार्थक र थप बलियो बनाउन अन्तरपालिका भगिनी सम्बन्धले टेवा पुग्ने अपेक्षा गरे ।

चन्दननाथका नगर प्रमुख सेजुवालले देशभित्रका नगरको सीप नक्कल गर्दा कार्यान्वयन योग्य हुने भन्दै सम्बन्ध स्थापनापछि जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायत प्राङ्गरिक कृषि उत्पादनको बजारीकरण र व्यवस्थापनमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

भेटमा महानगरपालिका उपप्रमुख हरिप्रभा श्रेष्ठले आपसी हित, सीप र क्षमता विकासका लागि भगिनी सम्बन्ध लाभदायक हुने अपेक्षा गरे । महानगरको गत वर्ष पुस १७ गते बसेको कार्यपालिका बैठकले चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?