बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको श्रोतले बताएको छ ।

आज (बिहीवार) अपरान्ह ४ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेर पाँच बजेका लागि बोलाइएको थियो । हरेक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

सोहि अनुरुप आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेटघाट भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ । तर पछिल्लो समय पार्टीमा विवाद चर्किरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

त्यस्तै आज साँझमा मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा चलिरहेका बेला यता अर्का अध्यक्ष शीतलनिवास पुगेको विषयलाई पनि गम्भीर रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?