पाकिस्तानमा प्रधानमन्त्री खान र सरकारविरोधी र्‍यालीमा प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र उनी नेतृत्वको सरकारको विरोधमा र्‍याली निकाल्न प्रतिबन्ध लगाइएको छ । सरकारको विरोधमा सहभागी हुनेहरुलाई जेल सजाय दिइनेसमेत जनाइएको छ ।

कोरोना महामारीले तहसनहस भएको पाकिस्तानमा सरकारको विरोधमा निरन्तर र्‍याली र प्रदर्शनहरु हुन थालेपछि पाकिस्तान सरकारले यस्तो निर्णय गरेको हो । पाकिस्तानका विपक्षी दलहरुको गठबन्धन (पीडीएम) ले आयोजना गर्ने भनिएको नोभेम्बर ३० को बृहत विरोध र्‍यालीमा अवरोध सिर्जना गरेका थिए ।

पाकिस्तान प्रशासनले मुल्तानमा आयोजना भएको सरकारविरोधी र्‍यालीमा अवरोध सिर्जना गर्ने, ताला लगाउने, बिजुली काट्ने र कार्यक्रमस्थलमा राखिएका सामग्रीहरु जफत गर्नेसम्मका कामहरु गरेको थियो ।

पाकिस्तानमा कोरोना महामारीले आर्थिक संकट सिर्जना गरेको छ । सरकारको ध्यान कोरोना महामारी नियन्त्रणमा भन्दा पनि आफ्ना विरुद्ध उठेका आवाजहरुलाई दमन गर्नतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ ।

प्रधानमन्त्री खानले कोरोना महामारीलाई कारण देखाउँदै मुल्तानमा हुने सरकार विरोधी कार्यक्रमलाई निशाना बनाएर कार्यक्रम बिथोल्ने प्रपञ्‍च बनाएको थियो । तर, यसमा सरकार असफल भएको छ ।

पीडीएमका कार्यकर्ताहरुले पाकिस्तानी अधिकारीहरुका सम्पूर्ण घेराहरु तोड्दै अघि बढेर कार्यक्रम स्थल तयार गरेको थियो । उक्त कार्यक्रममा उपस्थित नेताहरुले पाकिस्तानी प्रधानमन्त्री आतंकवादको संरक्षक भएको र मुलुकलाई सेना र विदेशी शक्तिको जिम्मा लगाउन लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?