परराष्ट्र मन्त्री ज्ञवालीकी पत्नीको कविता संग्रह सार्वजनिक, कवितामा झल्कियो व्यक्तिगत भोगाइ

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको नयाँ कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छिन् । ‘स्वभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ ।

ज्ञवालीले कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छिन् । कवयत्री ज्ञवाली आफैपनि अपाङ्गता भएकी छोरीको अविभावक हुन् । संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शिर्षकमा नेपाली नारीहरु माथिको उत्पीडनलाई उतारिएको छ ।

यस्तै ‘कविता संग्रहको ‘आवाज’ शीर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ । कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छिन् ।

वि.सं २०१९ कात्र्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली बामपन्थी आन्दोलनमा संलग्न थिइन् । यस अघि कवयत्री ज्ञवालीले आफ्नो आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठक सामु ल्याइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?