काठमाडौं । हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६ करोड ४१ लाख ८७ हजार विनियोजन गरेको छ । करिब दुई वर्षभित्र पुल निर्माण सम्पन्न हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पुलको शिलान्यास गर्दै प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना अगाडि बढाउन, शहरीकरणको विकास गर्न र विकासका पूर्वाधारलाई समानुपातिक रुपमा वितरण गर्न प्राथमिता दिएको जानकारी दिए । उनले अनियमितता गर्र्नेलाई कारवाहीको दायरामा ल्याइएको पनि बताए ।
सो अवसरमा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा जनताको चाहनानुसार खानेपानी, पक्की पुल, सडक र विद्युतीकरण विस्तारका लागि विभिन्न योजना कार्यान्वयनको तहमा उतारेको जानकारी दिए ।
उनले काठमाडौं, चितवन, हेटौँडा, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुलीलगायत शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले प्रक्रिया थालनी गरिसकेको र केही महिनाभित्रै सङ्घीय राजधानी काठमाडौंबाट हेटौँडा जोड्ने विद्युतीय सेवा सञ्चालन हुने बताए ।
भौतिक पूर्वाधार तथा यातायात निर्देशनालयका निमित निर्देशक डा सहदेव भण्डारी, उपमहानगरपालिका–११ र १२ का वडाध्यक्ष क्रमशः गोकर्ण पराजुली र ललित घलान तथा समाजसेवी ललिता गोम्बाले स्थानीय जनसहभागिताका आधारमा विकास निर्माण अगाडि बढाउँदा दीर्घकालीन लाभ प्राप्त हुने बताए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया