काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि पुलिस पेलानबाट अझै छुटकरा नमिलेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन् ।
उनले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

निषेधाज्ञा तोडेको आरोपमा हिजो (बुधवार) अपराह्न प्रहरी कार्यालयमा राखिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि रिहा भएका थिए ।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका थिए ।
प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया