दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभागृहको आज शिलान्यास गरेका छन् । तनहुँ जलविद्युत् आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभागृहको वरिष्ठ नेता पौडेलले शिलान्यास गरेका हुन् ।
सो अवसरमा वरिष्ठ नेता पौडेलले विकासका काममा कांग्रेस सँधै जनताको साथमा रहेको विकासनिर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिए । नेता पौडेलले संविधानको मर्मअनुसार चल्न पनि सरकारलाई आग्रह गरे ।
सो अवसरमा पूर्वमन्त्री शिवलाल थापा मगरले विकासनिर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभागृह निर्माण हुनुपर्नेमा जोड दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासनिर्माणको कामले गति लिएको बताए। कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले सभागृह निर्माणपछि ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताए ।
करीब दुई करोड लागत अनुमान गरिएको सभागृह निर्माणका लागि तनहुँ जलविद्युत् आयोजनाले ६० लाख सहयोग गरेको छ । ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिए। एक हजार पाँच सय क्षमताको सभागृह दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया