कुटानीपिसानी मिल सञ्चालकले सहुलियत मागे

काठमाडौं । कुटानीपिसानी मिल सञ्चालकले सरकारसँग सहुलियत मागेका छन् ।

कुटानीपिसानी व्यवसायलाई जीवन्त राख्न बिना धितो न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन तथा बिजुलीको महशुल समयमै तिर्न नसक्दा लाग्ने जरिवानाको छुट दिने व्यवस्था गर्न उनीहरुले माग गरेका हुन् ।

मजदूर र कर्मचारीको ज्याला तथा घरभाडालगायत खर्चका लागि २ प्रतिशत व्याजमा कम्तिमा ३ वर्षका लागि ऋण तथा खपत गरेको बिजुलीको महशुल समयमै तिर्न नसक्दा लाग्ने जरिवाना छुट आवश्यक रहेको कुटानी तथा पिसानी मिल व्यवसायी सङ्घका अध्यक्ष भरत कोइरालाले बताए ।

सङ्घका अध्यक्ष भरत कोइरालाका अनुसार विराटनगर महानगरपालिकाभित्र १०० भन्दा बढी मिल सञ्चालनमा रहेको जानकारी दिए । प्रत्येक मिलले आफ्ना मिलमा एकदेखि चार जनासम्मलाई रोजगार दिने गरेको उनको भनाइ छ ।

विगत २५ वर्षदेखि सञ्चालन हुँदै आएको विराटनगरस्थित महावीर राइस एण्ड फ्लावर मिलका सञ्चालक लालबाबु भगतले आफ्नो मिलमा कुटानी पिसाउन गराउन आउने ग्राहकको सधैँ भीड लाग्ने गरेको बताए । उनले गहुँ, चाना दाल, चामल पिसाएको प्रतिकेजी  सात, मकै (खस्रो र मसिनो) सातदेखि १०, सातु, लिटो, फापर, कोदो आठ, चामलको पीठो सेलरोटी, अर्सा, अनरसाका लागि पिसाएको १५, मसाला, बेसार ४०, खुर्सानी ४५, तेजपात प्रतिकेजी ७०, जौ प्रतिकेजी १० र दाल बनाई सातमा कुटानी पिसानी गर्दै आएको जानकारी दिए ।

मिलको आम्दानीबाट नै आफ्नो घरपरिवारको खर्च र छोराछोरीलाई शिक्षा दिँदै आएको उनको भनाइ छ । उनले मिलमा दुई जनालाई रोजगारीसमेत दिएको छ । मिलअनुसार कुटानी पिसानीको दर पनि फरक फरक रहेका छन् । विराटनगर–९ स्थित अनिल मसाला मिलमा प्रतिकेजी जिरा, बेसार र धनियाँको पिसानी शुल्क ३० लिने गरेको छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको सो मिलमा विशेषगरी तरकारीमा प्रयोग हुने मसाला पिसाउने गरेको सञ्चालक आशीष शाहले बताए ।

अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका त्यस्ता मिललाई कोरोना महामारीपछि पनि निरन्तरता दिन राहत प्याकेज आवश्यक रहेको उनको भनाइ छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?