नेकपा विवाद : वार्ताका लागि आज पनि सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

मंगलवार बसेको बैठकको निरन्तरतास्वरुप आज एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो ।

नेकपाभित्र उत्पन्न सङ्कट समाधानका लागि औपचारिक र अनौपचारिक दुवै ढङ्गबाट छलफल जारी राखिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको सचिवालय बैठकमा यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम शुरु भएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर भोली (मङ्सिर १८) गते हुने स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

गत मङ्सिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवादले नयाँ रुप लिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?