बच्‍चा जन्मिएपछि मात्रै खुल्यो बलात्कार घटनाको रहस्य !

बिप्लव जमकटेल/काठमाडौं । २०७६ फागुन २८ गते । चम्पादेवी गाउँपालिका वडा नम्बर २ ओखलढुंगा ।

१४ वर्षीया किशोरी आफ्नै कोठामा बलात्कृत भइन् । घरमा कोहि नभएको मौका छोपेर चम्पादेवी गाउँपालिका २ बस्ने २९ वर्षीय वीर बहादुर मगरले किशोरीमाथि बलात्कार गरे ।

२०७७ साल मंसिर १३ गते शुक्रवार किशोरीको पिशाब रोकीएपछि परिवारले उनलाई मन्थली स्थीत तामाकोशी सामुदायिक अस्पतालमा लगे ।

अस्पतालमा पुगेपछि उनी गर्भवती रहेको कुरा खुल्यो । २०७७ साल मंसिर १४ गते शनिवार उनले छोरीलाई जन्म दिइन् । पिडित किशोरीको बुबाले किशोरीसँग सोधपुछ गर्दा वीर बहादुर मगरले गत फागुनमै उनको बलात्कार गरेको कुरा खुल्यो ।

पिडितको बुबाले सोमवार (हिजो) प्रहरीमा उजुरी दिएपछि प्रहरीले वीर बहादुर मगरलाई सोमवार बेलुका पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका वीर बहादुरको हाल म्याद थपको तयारी भइरहेको र थप आवश्यक अनुसन्धान भइरहेको ओखलढुङ्गाका प्रहरी प्रवक्ता शिवा कट्टेलले लोकपथलाई जानकारी दिए ।

अहिले पिडित किशोरीको मन्थली स्थीत तामाकोशी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

बलात्कार सम्बन्धी घटनाहरु बढ्दो क्रममा रहेको छ । प्रत्येक वर्ष अघिल्लो वर्ष भन्दा दोब्बर हिसाबमा बलत्कारका घटनाहरु बढ्दै गएका छन् ।

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्याङ्क अनुसार बितेका सात वर्षको बीचमा नेपालमा १४ हजार महिला बलात्कृत भएका छन् । ति मध्ये ६ हजार ३ सय ६३ जना १८ वर्ष मुनिका बालिका रहेका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा देशभर गरेर २ हजार ८ सय ३१ महिला बलात्कृत भए । त्यसमध्ये १ हजार ३ सय ९६ जना १८ वर्ष मुनिका बालिका रहेका छन् । जुन ४९ प्रतिशत हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानून ल्याउने तयारीमा रहेको बताउँदै आएका भएपनि कानून कार्यान्वयन भने भएको छैन ।

त्यस्तै, संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने जस्ता मागहरु गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?