काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ ।
यसअघि आज (मंगलवार) दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नै बोलाइएको थियो । यो नेकपाको ७० औँ बैठक हो ।
पार्टी विभाजनतिर पुगेको अवस्थामा दुई अध्यक्षको पत्र र जवाफपछि आज बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । त्यसैले पनि बैठकमा साझा प्रस्ताव बन्ने र स्थायी कमिटीमा लैजाने संभावनाका सम्बन्धमा धेरैले चासो दिएका छन् ।
गत मंसिर १३ गते बसेको सचिवालय बैठकले तय गरेको आजको बैठकलाई महत्वपूर्ण मानिनुको अर्को कारण पनि छ – गत बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको जवाफ ।
गत १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका थिए ।
गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।
आजको बैठकमा दुबै अध्यक्षले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ । र, यस छलफलबाट आगामी १८ गते बस्ने स्थायी कमिटी बैठकमा साझा प्रस्ताव जान्छ कि जाँदैन भन्ने विषय नै आजको बैठकको मुख्य विषय हो ।
लोकपथलाई प्राप्त जानकारी अनुसार प्रचण्ड पक्ष अहिलेसम्मका सबै चिठ्ठी रप्रस्तावपत्र स्थायी कमिटी बैठकमा लैजाने तयारीमा छ भने ओली पक्ष सचिवालय बैठकबाट साझा प्रस्ताव बनाएर जाऔँ भन्ने पक्षमा छ ।
नेकपाको १३ गतेको बैठकले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । यसअघि गत असार १० देखि भदौ २६ सम्म स्थायी कमिटीको बैठक बसेको थियो । त्यस्तै, अगामी २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया