नेकपा सचिवालय बैठक : बन्ला त साझा प्रस्ताव ? यस्तो छ दुई पक्षको ‘प्लान’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा साझा प्रस्ताव बन्ने र स्थायी कमिटीमा लैजाने संभावनाका सम्बन्धमा धेरैले चासो दिएका छन् ।

गत मंसिर १३ गते बसेको सचिवालय बैठकले तय गरेको आजको बैठकलाई महत्वपूर्ण मानिनुको अर्को कारण पनि छ- गत बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको जवाफ ।

गत १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका थिए ।

गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

आजको बैठकमा दुबै अध्यक्षले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ । र, यस छलफलबाट आगामी १८ गते बस्ने स्थायी कमिटी बैठकमा साझा प्रस्ताव जान्छ कि जाँदैन भन्ने विषय नै आजको बैठकको मुख्य विषय हो ।

लोकपथलाई प्राप्त जानकारी अनुसार प्रचण्ड पक्ष अहिलेसम्मका सबै चिठ्ठी प्रस्तावपत्र स्थायी कमिटी बैठकमा लैजाने तयारीमा छ भने ओली पक्ष सचिवालय बैठकबाट साझा प्रस्ताव बनाएर जाऔँ भन्ने पक्षमा छ ।

नेकपाको १३ गतेको बैठकले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । यसअघि गत असार १० देखि भदौ २६ सम्म स्थायी कमिटीको बैठक बसेको थियो । त्यस्तै, अगामी २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?