गणेशकलीले जन्माई छावा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको एक हात्तीले छावालाई जन्म दिएको छ । निकुञ्जको हात्ती प्रजनन केन्द्र तथा तालीम केन्द्र खोरसोरमा रहेको ३१ वर्षीय हात्ती गणेशकलीले पोथी छावालाई आज जन्म दिएको हो ।

नवजात बच्चा र सुत्केरीको स्वास्थ्य अवस्था राम्रो रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सो हात्ती २० महिनाअघि रोनाल्डो नामक जङ्गली हात्तीबाट गर्भवती भएको थियो । सामान्यतया हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउँछन् ।

नवजात छावाको हिन्दू परम्पराअनुसार पछि नामकरण गरिने उनले जानकारी दिए । योसँगै निकुञ्जमा हात्तीको सङ्ख्या ५९ पुगेको छ । तीमध्ये ५३ वटा चितवन राष्ट्रिय निकुञ्जका हुन् भने छ वटा कोशी टप्पुबाट काजमा ल्याइएका हुन् । सो केन्द्रमा जन्मिएका छावालाई तालीम दिएर कार्यक्षेत्रमा पठाउने गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?