कञ्चनरुपमा १५ शैयाको अस्पताल शिलान्यास

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ ।

हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीति अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले शिलान्यास गरे ।
विसं २०५३ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाउन थालिएको हो ।

सो अवसरमा प्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिकाबाट हुने सहयोग गर्ने उल्लेख गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताए ।

नगरपालिकाका उपप्रमुख निरु पोखरेलले यो अस्पतालबाट यहाँका मात्र नभई छिमेकी गाउँपालिका र नगरपालिकाले समेत लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनुपर्नेमा जोड दिए ।

सङ्घीय सरकारले अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा रु तीन करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?