अस्पतालमा उपकरण तथा जनशक्ति कमी हुन नदिइने

कर्णाली । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्थानीय तहमा सञ्चालित अस्पतालमा अत्यावश्यक उपकरण तथा जनशक्तिको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा निर्माण हुने १५ शैयाको अस्पतालको आज शिलान्यास गर्दै उनले भौतिक पूर्वाधारका साथै विशेषज्ञ चिकित्सकलगायतका स्वास्थ्य जनशक्तिको कमी हुन नदिने प्रतिवद्धता जनाए ।

उनले नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने दिनका रुपमा इतिहासले आजको दिनलाई सम्झिने बताए । सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल तथा अस्पताल नभएका ३९६ स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणको शुरुआत गरेको हो । नयाँ बन्ने सबै अस्पताल एउटै डिजाइनका हुनेछन् । “अस्पतालका भवनहरु मात्र होइन, गाउँमै विशेषज्ञ पठाउने हाम्रो तयारी छ, दक्ष स्वास्थ्यकर्मी र औषधि उपकरणको व्यवस्थापनमा सरकार चुक्ने छैन्”, उनले भने, “आधारभूत स्वास्थ्य सेवाका लागि नेपालगञ्ज, काठमाडौं लगायतका शहरमा धाउनुपर्ने बाध्यता अब हट्नेछ ।”

सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका राज्यमन्त्री रावतले यसअघि यहाँका वीरेन्द्रनगर लाटीकोइलीस्थित नगर अस्पताल, बराहताल अस्पताल, पञ्चपुरी अस्पताल र चौकुनेस्थित भेरी कर्णाली अस्पतालको शिलान्यास गरिसकेका छन् । भवन निर्माण शिलान्याससँगै भौतिक पूर्वाधार र न्यूनतम जनशक्ति भएका स्वास्थ्य संस्थाहरुमा राज्यमन्त्री रावतले अस्पतालका रुपमा विशिष्टीकृत सेवाको पनि शुभारम्भ गरे ।

सरकारले १५ श्ययाको अस्पतालका लागि निर्माणको शुरुआतका लागि चालू आर्थिक वर्षमा एक करोड बजेट निकासा पठाइसकेको छ । प्रतिअस्पताल १८ करोड क्रमागत रुपमा बजेट आउने सुनिश्चित भइसकेको र दुई वर्षभित्र भवन निर्माण पूरा हुने उहाँले प्रस्ट पारे ।

चार स्थानीय तहमा अस्पताल शिलान्यास

सिमकोट–हुम्लाको विभिन्न चार स्थानीय तहमा आज अस्पतालको शिलान्यास गरिएको छ । जिल्लाको सर्केगाड, ताँजाकोट, अदानचुली र नाम्खा गाउँपालिकामा एकसाथ अस्पतालको शिलान्यास हुँदा यहाँका नागरिक खुशी भएका छन् ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सर्केगाड गाउँपालिकाको अस्पताल शिलान्यास गरे भने अन्य गाउँपालिकामा पनि सम्बन्धित पालिकाका जनप्रतिनिधिले शिलान्यास गरेका छन् । पाँच श्ययाको अस्पतालका लागि ७० लाख, १० शैयाका लागि ८५ लाख र १५ शैयाका लागि एक करोड बजेट विनियोजन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?