दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा हिंसा नियन्त्रण

काठमाडौं । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाले त्यहाँ भड्किएको हिंसा नियन्त्रणमा लिएको छ । हिंसा नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दालाई सम्भावित ठूलो जातीय हिंसाबाट नेपाली सेनाले जोगाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार, “शान्ति स्थापनार्थ दक्षिण सुडानको कुइबेट इलाकामा तैनाथ कालिध्वज गणअन्तर्गतको अस्थायी वेसबाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्,”

एकजनाको मृत्यु भएपछि कोनगर र एल जातिका मानिसहरुबीच भएको झडपले हिंसाको रुप लिएको थियो । हिंसा थप भड्किने खबर प्राप्त भएपछि टिओबीबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा नेपाली सेनाको एक टोली घटनास्थलतर्फ परिचालन भएको थियो । नेपाली सैनिक टोलीले दुई जातिबीच झडप हुन रोकेको थियो ।

उक्त क्षेत्रमा सुरक्षा स्थिति सामान्य भएपछि राष्ट्रसंघका मिसनका अन्य व्यक्तिहरुबाट शान्ति कायम गराउने कार्य सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?