लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी सजग भई लगानी गर्नुहोस् : धितोपत्र बोर्ड

काठमाडौं । पछिल्ला दिनहरुमा शेयरबजारमा देखापरेको उछालप्रति नियामक निकायहरुले ध्यानकर्षण भएको जनाउँदै लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आधारभूत र प्राविधिक विश्लेषण गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेको भोलीपल्टै धितोपत्र बजारको प्रमुख नियामक धितोपत्र बोर्डले पनि बजारमा लगानीको गतिविधि बढ्दै गएको भन्दै लगानीकर्ताहरुलाई सजगता अपनाउन आग्रह गरेको छ ।

मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ । बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको बोर्डले प्रसे विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बोर्डले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड आग्रह गरेको छ ।

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाख भन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार जुन कुल जनसंख्याको करिव ७.२५ प्रतिशत रहेको बोर्डको भनाई छ ।

पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ जुन समग्र पूँजी बजारका लागि खुसीको कुरा हो । यद्यपी लगानीकर्ताहरुले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने बोर्डको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?