रोग र भोकले नागरिकको ज्यान जाँदैन : मुख्यमन्त्री भट्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन् । दिपायल सिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागिएको ५० शैयाको सरुवा रोग अस्पतालको आज शिलान्यास गर्दै उनले उपचारको अभावमा नागरिकले अकालबाट ज्यान गुमाउनु पर्दैन भने ।

उनले भने, “रोग र भोकले नागरिकको ज्यान जान दिने छैनौँ, स्वास्थ्य सेवाको पहुँच घर घरमा पुर्‍याउँछौँ ।”

पचास शैयाको अस्पतालले नागरिकले कम खर्चमा गुतस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी रहेको मुख्यमन्त्री भट्टले बताए । “अस्पताल निर्माणमा सबैले सहयोग गरौँ, सबै नागरिकले नजिक सेवा पाउनेछन्, यो भन्दा ठूलो खुशीको कुरो के नै छ र”, उनले भने, “विकास भन्ने कुरो क्रमिकरुपमा हुँने हो, ढिलो भयो भनेर आत्तिनु पर्दैन ।” विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरीएको उक्त ठाउँमा अस्पताल शिलान्यस गरिएको हो ।

उनले भने, “कम्युनिष्ट सरकार पाँच वर्ष चल्छ, यो चोइटिने, फुट्ने भन्ने कुनै सम्भावना छैन, कसैले फुटाउने सपना देखेको भए त्यो दिवा सपना मात्रै हो ।”
अस्पताल शिलान्यास भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

जिल्लाका अन्य स्थानीय तहमा १०-१० शैयाका आठ वटा अस्पताल एकैसाथ शिलान्यास गरिएका छन् । शिखर नगरपालिकामा नगरप्रमुख सीताराम जोशी, बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिला, जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा, पूर्वीचौँकी गााउँपालिकामा अध्यक्ष दीर्घराज बोगटी, बडीकेदार गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर चन्द, सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुम्रेल तथा केआइसिंह गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती अस्पतालको एकसाथ शिलान्यास गरेका हुन् ।

सरकारले देशभरिका ३९६ अस्पतालको एकैसाथ उद्घाटनको तयारी गरेसँगै जिल्लामा पनि आठ अस्पताल एकैसाथ उद्घाटन गरिएका हुन् ।

बैतडीः सात स्थानीय तहमा अस्पताल निर्माण हुने : 

बैतडी–नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ शैया र पाँच स्थानीय तहमा १० शैया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो । यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १०÷१० शैयाको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकामा निर्माण हुने अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट र गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले संयुक्तरुपमा शिलान्यास गरेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनका लागि सरकारले पहल गरिरहेको बताए । उनले भने,“स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यो हकलाई प्रत्याभूत गर्न तिनै तहका सरकार लागिपरेका छन्”, स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रत्याभूतका लागि सरकारकोतर्फबाट पहल भइरहेको छ”, उनले भने, “पालिकास्तरमा स्थापना भएका अस्पतालले स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग पुग्नेछ, सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’का रुपमा पनि लिएको छ ।” यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका गाउँपालिकाले पहल गरिरहेको बताए ।

पालिकास्तरमा बन्ने अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । सङ्घीय सरकारले १५ शैयाको अस्पतालका लागि एक करोड र १० शैयाको अस्पतालका लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बागलुङमा चार अस्पतालको शिलान्यास : 

गलकोट– बागलुङमा शिलान्यासको सूचीमा परेको छमध्ये आज चार अस्पतालको शिलान्यास गरिएको छ । अर्थ मन्त्रालयले बागलुङका छ पालिकामा अस्पताल निर्माण गर्नका लागि बजेटसमेत निकासा गरेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ शिलान्यास गर्ने भने पनि जम्मा चार अस्पतालको मात्रै शिलान्यास भएको छ ।

बागलुङ नगरपालिकाको पैंयुपाटा स्वास्थ्य चौकीमा निर्माण हुने १५ श्ययाको अस्पताल आन्तरिक समस्याका कारण आज शिलान्यास गर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । जग्गा विवादका कारण अस्पताल शिलान्यास हुन नसकेको उनले बताए । तमानखोला गाउँपालिकास्थित बोङ्गादोभान स्वास्थ्यचौकीमा निर्माण हुँने पाँच शैयाको अस्पताल यही मङ्सिरको २२ गते मात्रै शिलान्यास गरिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । चिठी एक ठाउँमा अर्को ठाउँमा अख्तियारी आएका कारण शिलान्यास गर्न समस्या भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘पैंयुपाटामा अस्पताल बनाउने कुरा थियो बजेटको अख्तियारी आउँदा मूलपानी भनेर आयो”, नगरप्रमुख पौडेलले भने, “स्वास्थ्य मन्त्रालयले सच्याएर पठाएपछि काम अगाडि बढ्दछ ।” दश पालिकामध्ये छ पालिकामा आज अस्पताल शिलान्यास गर्नेगरी बजेट पठाएको थियो । यस्तै तमानखोला गाउँपालिकामा समेत जग्गा व्यवस्थापनका लागि केही ढिलो भएको गाउँपालिकाले जनाएको छ । बागलुङका छ स्थानीय तहमा पाँच, १० र १५ शैयाको अस्पताल बनाउन अर्थमन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिए । बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्डसमेत पठाइएको छ ।

बागलुङको बडीगाड गाउँपालिकाको ग्वालिचौर स्वास्थ्य चौकीमा १५ श्ययाको अस्पताल गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले, बरेङ गाउँपालिकाको हुग्दीशिर स्वास्थ्य चौकीमा १० शैयाको अस्पताल गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले, ताराखोला गाउँपालिकाको अर्गल स्वास्थ्य चौकीमा पाँच शैयाको अस्पताल गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र निसीखोला गाउँपालिका–४ मजुवाफाँटमा १० शैयाको अस्पताल गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले शिलान्यास गरेका छन् ।

अस्पताल निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापनमा भूमिका खेलेको थियो । अस्पताल निर्माणमा सहजीकरण तथा प्राविधिक सहयोग गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सव सेवा महाशाखामा प्रमुख डा रामबहादुर केसीले जानकारी दिए । अस्पताल बनाउन न्यूनतम प्रत्येक पालिकामा सात रोपनी जग्गा व्यवस्थापन भएको छ । अस्पतालको नक्सालगायत प्राविधिक क्षेत्रमा सहयोग प्रदेशले गर्नेछ ।

सङ्खुवासभाका तीन तहमा आधारभूत अस्पताल शिलान्यास : 

किमाथाङ्का – ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्‍याउने उद्देश्यलेसङ्खुवासभाका तीन स्थानीय तहमा आज आधारभूत अस्पताल शिलान्यास भएका छन् । केन्द्रीय सरकारको लक्ष्य र प्राथमिकताका अनुसार देशभरका सबै स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल शिलान्यास गरिएको हो ।

आज चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकामा आधारभूत अस्पताल शिलान्यास गरिएको छ । चैनपुरमा १५ श्ययाको अस्पताल सांसद राजेन्द्र गौतमले शिलान्यास गरेका चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए । चैनपुरमा १४ करोड ८३ लाख ५२ हजारको लागतमा १५ शैयाको अस्पताल बन्ने नगरप्रमुख खत्रीले बताए ।

पाँचखपन नगरपालिकामा १० शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । पाँचखपन वाना बजार नजिकै १० शैयाको आधारभूत अस्पतालको शिलान्यास सांसद राजेन्द्र गौतम र नगरप्रमुख विपिन राईले संयुक्तरुपमा गरेका पाँचखपन नगरपालिका उपप्रमुख भिमादेवी राईले जानकारी दिए। पाँचखपनमा नौ करोड ९८ लाख ३६ हजारको लागतमा अस्पताल निर्माण हुने उपप्रमुख राईले बताए ।

स्वास्थ्य सेवाको पूर्वाधार गाउँमै बनेपछि २० हजारभन्दा बढीले सेवा लिन पाउने उनको भनाइ छ । त्यस्तै धर्मदेवी नगरपालिकामा समेत आधारभूत अस्पताल शिलान्यास भएको छ । धर्मदेवी–६ माम्लिङ्मा पाँच शैयाको अस्पताल शिलान्यास भएको नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिए । सांसद राजेन्द्र गौतमले पाँच शैयाको आधारभूत अस्पताल शिलान्यास गरेका हुन् । पहिलो चरणमा जिल्लाका तीन स्थानिय तहमा आधारभूत अस्पताल भवन शिलान्यास भएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । मादी नगरपालिका,भोटखोला गाउँपालिका, सभापोखरी गाउँपालिका चिचिला गाउँपालिकाले प्राविधिक कारण आज शिलान्यास गर्न सकेनन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?