प्रहरी सहायता कक्षका कारण दशैँका यात्रुलाई सहज

चितवन, १४ असोज – चितवन प्रहरीले सञ्चालन गरेको यात्रु सहायता कक्षका कारण दशैँका यात्रुलाई सास्ती कम भएको छ । यात्रुका गुनासा प्रहरीले तत्कालै सम्बोधन गर्ने भएकाले उनीहरुलाई सहज भएको हो ।प्रहरीले नारायणगढ र भरतपुर बसपार्कमा चौबिसैघण्टा सेवा दिने गरी दुई वटा सहायता कक्षा सञ्चालन गरेको छ । फूलपातिदेखि सुरु भएको सो कक्ष आउँदो छठपर्व जारी रहनेछ । प्रति कक्षमा न्यूनतम् दुई जना प्रहरी जनशक्ति छन् । सडकमा सवारी चेकजाँच गर्ने अन्य प्रहरी खटिएका छन् । चाडपर्वका समयमा यात्रुले बढी भाडा दिनुपर्ने तथा चोरी डकैती र सामाजिक असुरक्षा भोग्नुपर्ने समस्या न्यून गर्न सहायता कक्ष सहयोगी देखिएको छ ।सहायता कक्षाबाट खटिएका प्रहरीले यात्रा गरिरहेका यात्रुलाई सोधेर अप्ठेरो परेको छ÷छैन भनेर जिज्ञासा राखेको देख्दा खुशी लागेको एक यात्रु रामचन्द्र शर्माले बताउनुभयो । यस्तो अभियानलाई प्रहरीले दशैँमा मात्रै नभई हरेक समयमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।हरेक सहायता कक्षमा दुईजना प्रहरी राख्ने गरिएको चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार टिकट पाए–नपाएको, यात्रु ठगिए–नठगिएको तथा गाडी पाए–नपाएका बारेमा प्रहरीको सहायता कक्षबाट निगरानी गर्दै आएको छ ।यातायातसम्बन्धी कुनै पनि समस्या परेमा तत्कालै कक्षका प्रहरीलाई खबर गर्न समेत उपरीक्षक शर्माले आग्रह गर्नुभएको छ ।भरतपुरको केन्द्रीय बसपार्कमा खटिनुभएका प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले अहिलेसम्म ठूलो अप्रिय घटनाका बारेमा सहायता कक्षमा जानकारी नआएको बताउँदै सामान छाड्ने र हराउने क्रम भने देखिएको बताउनुभयो ।शुक्रबार एक जनाले झोला छाडेको पाइएकाले हरेक बस टिकट काउन्टरमा जानकारी गराएर झोला सुरक्षित राखिएको उहाँको भनाइ छ ।उहाँले सहायता कक्षाबाट दिने सेवाका अलावा प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट अभियान सञ्चालन गरी कुनै समस्या परेको भए यात्रुसँग जानकारी लिने र चालकलाई ट्राफिक सुरक्षाबारे जानकारी दिने गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?