काठेखोलाका सडक कालोपत्रे

काठमाडौं । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सडक कालोपत्रे गर्न थालिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले पालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्ने योजनाअनुसार सडक स्तरोन्नति गर्दै आएका छन् । सो गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलोपटक कालोपत्रे गर्न थालिएको हो ।

यही मङ्सिर मसान्तसम्म गाउँपालिकाको कार्यालयदेखि एक्लेखेतसम्मको ४०० मिटर सडक कालोपत्र भइसक्ने र वडा कार्यालयसम्म पुग्ने चार किलोमिटर कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए । “दुई हप्ता भित्रै गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे हुनेछ, उनले भने, “सोही सडकको थप चार किमी सडक कालोपत्रेका लागि तीन महिनादेखि पूर्वाधारको काम भइरहेको छ ।” गण्डकी प्रदेश सरकारको ८० लाखमा पहिलो चरणमा कालोपत्रे थालिएको छ ।

सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माण भइरहको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । उनले गाउँपालिकामा नै पहिलोपटक रेश पुग्ने सडकबाट कालोपत्रेको काम थालिएको बताए । “गाउँपालिकाभित्र पहिलोपटक समपूरक बजेटको रकमले रेश जाने सडक कालोपत्रे हुन थालेको छ”, उनले भने, “कम्तीमा वडा कार्यालयसम्म कालोपत्रे पुर्‍याउने योजना साकार हुने देखिएको छ ।”

चार महिना अगाडि जोशी-निसान-आचार्य जेभी निर्माण सेवासँग छ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ । उक्त सडक २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्नेछ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौडा पार्ने तथा ज्याविन भर्ने काम भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा वर्षात्का यातायातका साधन चल्न नसक्ने समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि मोटरेबल पुलसमेत निर्माण थालिएको छ ।

गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किमी, ड्रेन, कल्र्भट तथा पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ । कालोपत्रे हुने र खोलामा मोटरेबल पुल जस्ता विकास निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?