काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे हिजो(आइतवार) एकदिने नेपाल भ्रमण गरेर सोही दिन फर्किसकेका छन् । एकदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गरेका हुन् ।
नेपालका सरकारी सञ्चारमाध्यमलाई मात्रै पहुँच दिइएको उक्त भेटवार्ताका बारेमा चिनियाँ रक्षा मन्त्रालयले भने आफ्नै वेबसाइट मार्फत् केही जानकारी प्रकाशन गरेको छ ।
रक्षामन्त्री फेङहेसँगको कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीन कोभिड–१९ विरुद्ध लड्न सफल भएकोमा दिँदै चीनले नेपालको आर्थिक तथा सामाजिक विकासमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको कुरा उल्लेख गरिएको छ । वेबसाइटका अनुसार भण्डारीले नेपालले चीनको बेल्ट एण्ड रोडजस्तो महत्वकांक्षी योजनामा पूर्ण सहयोग गरेको बताउँदै आगामी दिनमा दुवै देशका सेनाबीच पनि प्रगाढ सम्बन्ध स्थापित गर्न चाहेको पनि उल्लेख गरिएको छ ।
सैनिक सम्बन्धकै पक्षमा बोल्दै प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ प्रगाढ हुने कुरामा विश्वस्त रहेको बताएका छन् ।
चिनियाँ रक्षामन्त्री फेङहेले गत वर्ष दुवै देशका राष्ट्रपतिले एकअर्काको मुलुकको सफलतापूर्वक भ्रमण गरेको र मित्रवत् सम्बन्धलाई रणनीतिक सम्बन्धमा परिणत गरेर दीर्घकालीन सम्बन्ध कायम गरेको उल्लेख गरेका छन् । उनले नेपालको स्वायत्तता, सार्वभौमसत्ताको प्रशंसा गर्दै नेपाली पक्षसँग निरन्तर सम्पर्कमा रहने र सदाझैं नेपालको सैन्य विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैगरी प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था र नेपाली सेनासँगको सैन्य सम्बन्धको बारेमा कुराकानी भएको सो वेबसाइटमा उल्लेख गरिएको छ ।
फेङहे भ्रमण सकेर सोही दिन स्वदेश फर्किसकेका छन् । सुरक्षा तथा सैन्य लगायत द्विपक्षीय सैनिक सहयोगका विषयमा छलफल गर्न आइतवार २० सदस्यीय प्रतिनिधिमण्डलसहित फेङहे नेपाल भ्रमणमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया