प्रदेशलाई अपाङ्गमैत्री बनाइन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपाङ्गमैत्री बनाइने बताएका छन्। बाल अपाङ्ग टेवा सङ्घ काठमाडौंद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग भएकालाई ह्विल चियर वितरण गर्दै उनले प्रदेशमा निर्माण भइरहेका नयाँ संरचना अपाङ्गमैत्री रहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार अपाङ्गमैत्री बनाउने सम्बन्धमा सचेत रहेको विचार राख्दै उनीहरुको सहयोगका लागि करुणा फाउन्डेसनमार्फत स्थानीयस्तरमा ठोस कार्यक्रम शुरु गरिएको बताए । उनले प्रदेशमा अपाङ्गमैत्री कानून निर्माणमा ध्यान दिइने चर्चा गर्दै प्रदेशलाई ह्विलचियर मैत्री घोषणा गर्न वचनवद्धता व्यक्त गरे ।

टेवा सङ्घका अध्यक्ष टेन्डी शेर्पाले प्रदेश सरकारले प्रत्येक स्थानीय निकायमा एक विद्यालयमा अपाङ्ग भएका लागि मात्र पठनपाठनको व्यवस्था गर्नका लागि सहयोग गर्न आग्रह गरे । अपाङ्गता भएका नवराज कार्कीले फरक क्षमता भएकालाई सीपमूलक तालीमको स्थानीयस्तरमा सुविधा हुनुपर्नेमा जोड दिँदै उनीहरुलाई आवश्यक सामग्री सहज उपलब्ध गराउन आग्रह गरे ।

ह्विलचियर फाउन्डेशन अमेरिकाको सहयोगमा मोरङ, सुनसरी र झापाका १५ जना अपाङ्ग भएकालाई आधुनिक ह्विलचियर वितरण गरिएको थियो । सङ्घले यसप्रकार ह्विलचियर आगामी दिनमा अन्य छ प्रदेशमा वितरण गर्ने जानकारी सोही अवसरमा दिइयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?