काठमाडौं । उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
शनिवार भएको निर्वाचनमा विजयी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
होटल सोल्टीमा भएको सपथ ग्रहणमा निर्वतमान अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्ष एवम् हालका अध्यक्ष शेखर गोल्छालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । भने गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा विजता पदाधिकारी एवम् सदस्यहरुलाई निर्वतमान अध्यक्ष राणा र अध्यक्ष गोल्छाले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
आइतवार (आज) बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन्। महासङ्घको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन भएको थियो ।
महासङ्घको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे। त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन्। उनीहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।
वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाउनुभयो । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।
यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे। महासङ्घको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भएका छन् । यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।
मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । उनले भने, “अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया