२०७७, १४ मङ्सिर आईतवार १६:३६

तपाई गल्ती त गर्दै हुनुहुन्न ? खानेकुरा सम्बन्धि यस्ता गलत बुझाई नभएकै जाति


प्रकाशित मिति : २०७७, १४ मङ्सिर आईतवार १६:३६

आजभोलि नयाँनयाँ रोगका नामहरु सुनिन्छन् जसकारण मानिस दिनानुदिन रोगी बन्दै गएको छ । ती रोग लाग्ने अनेकौं कारणहरुमध्ये मूख्य कारक हो, हाम्रो खाना ।

खानाको मात्रा नमिल्ने, खानाको तालमेल नमिल्ने वा खाना आफैमा विषादीपूर्ण हुने भएकाले पनि थाहा नपाइ हामी विभिन्न रोगको शिकार हुनपुग्छौं । त्यसैले, रोगले गाँजिएपछि त्यसको उपचारमा समय र पैसा खर्च गर्नुभन्दा बरु शुरुमै सावधानी अपनाउनु बुद्धिमानी हो भन्ने बुझेर मानिसहरु आफ्नो आहारप्रति निक्कै सजग हुन थालेका छन् ।

के खाने, के नखाने, कुन समयमा खाने, कुन समयमा नखाने र केके सँगै खान हुने, केके सँगै खान नहुने विषयमा जानकारी राख्ने क्रममा कतिपय अवस्थामा भने हामीले भ्रम पनि पालिरहेको हुनसक्छौं । खाना सम्बन्धि धेरै किसिमका भ्रमहरु छन् जसमध्ये केही गलत बुझाइहरु हामीले समेटेमका छौंः

‘काब्र्स हानिकारक छ’

तौल घटाउनेहरुका लागि काब्र्स शत्रु नै मानिन्छ । त्यस्तै, स्वस्थ आहार गर्नेहरुले पनि काब्र्सलाई हानिकारक अथवा अनावश्यक तत्वका रुपमै व्याख्या गरिरहेका हुन्छन् । तर, विभिन्न किसिमका काब्र्सले मानव शरीरमा छुट्टाछुट्टै तरिकाले काम गरिरहेका हुन्छन् । सुगर, स्टार्च र फाइबर यी तीन किसिमका काब्र्सले पाचन प्रणाली सँगसँगै शरीरलाई आवश्यक उर्जा दिनमा मूख्य भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

पब्लिक हेल्थ इंगल्याण्डका अनुसार एक वयस्क व्यक्तिले दिनको ३० ग्राम फाइबर सेवन गर्नैपर्छ । तर, काब्र्सयुक्त खानेकुराहरु सेवन नगर्नाले शरीरको यो आवश्यकता पूरा हुनसक्दैन । त्यसैले, काब्र्स सेवन गर्दै नगर्नु गलत हो । काब्र्सयुक्त खानेकुरा सेवन गर्दा त्यसमा काब्र्सवाहेक अन्य पोषण तत्व पनि भएको खानेकुरा खानु अझै उपयुक्त हुन्छ ।

‘सबै क्यालोरी एउटै हुन्’

आजभोलि खानेकुरालाई क्यालोरीको आधारमा मापन गरिन्छ । उदाहरणका रुपमा लिनुपर्दा, कतिपय मानिसले यो मान्छन् कि यदि केही टुक्रा चक्लेट र एउटा केरामा क्यालोरीको मात्रा बराबर छ भने दुईवटामध्ये जुनसुकै खाए पनि उस्तै हो ।

तर, यदि दुईजना व्यक्तिले हरेक दिन उत्तिकै क्यालोरी सेवन गर्छन् जसमा एकजनाले ताजा, अर्गानिक खानेकुरामार्फत् त्यो क्यालोरी पाइरहेको हुन्छ र अर्कोले जंक फुड मार्फत् भने उनीहरुको शरीरमा खानेकुराले पार्ने प्रभाव वेग्लावेग्लै हुन्छ ।

अघिको चक्लेट र केराकै उदाहरण लिने हो भने पनि दुवैले करिब ९० क्यालोरी दिन्छन् होला तर चक्लेटमा फ्याटको मात्रा अत्याधिक हुन्छ जसले शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा पनि बढाइदिन्छ । र, हामीलाई छिट्टै भोक लाग्न थाल्छ । यता केरामा भएको फाइबरले भने विस्तारै सुगर रिलिज गर्ने भएकाले धेरै समयसम्म भोक लाग्दैन र त्यसबाट पाइने अतिरिक्त खनिज र भिटामिनको फाइदा त छँदैछ ।

त्यसैले जुनसुकै खानेकुरालाई पनि क्यालोरीको आधारमा भन्दा पनि त्यसमा भएको पोषण तत्वको आधारमा मापन गर्नुपर्दछ ।

चिनीको विकल्पमा अन्य प्राकृतिक गुलिया कुराहरुको प्रयोग

गुलिया खानेकुरा कसलाई मनपर्दैन होला र ? तर, अत्याधिक चिनीको सेवन हानिकारक हुन्छ भन्ने थाहा भएपछि स्वास्थ्यसँगै सम्झौता गरेर गुलियो खानु पनि ठीक होइन । यस्तो अवस्थामा आजभोलि चिनीको सट्टा प्राकृतिक गुलिया कुराहरु खाने चलन बढेको छ । अर्थात् चियामा चिनीको सट्टा मह वा प्राकृतिक सिरपहरु हालिन्छ ।

अझ अचम्मको कुरा त के छ भने नियमित चिनी खानुभन्दा ब्राउन सुगर खान रुचाउँछन् मान्छेहरु जबकि ब्राउन सुगर नियमित चिनीमा सख्खर हालेर बनाइएको हुन्छ । आखिर चिनी त दुवै चिनी नै हुन् ।

चिनीका कुनैकुनै प्राकृतिक विकल्पहरुमा केही थप पोषण तत्व भएतापनि तिनीहरुको मात्रा यति थोरै हुन्छ कि चिनी र ती विकल्पहरुमा खासै फरक नै हुँदैन ।

शाकाहारी खानामा आवश्यकता अनुसार प्रोटिन पाइँदैन

मांसाहारी आहारा प्रोटिनयुक्त हुन्छ तर, यसको अर्थ शाकाहारी खानेकुरामा प्रोटिन नै नपाइने भन्ने होइन । शाकाहारी व्यक्तिहरुले दुध, दही, घ्यू, दाल, गेडागुडी, बदाम आदिजस्ता खानेकुराबाट प्रोटिन पाइरहेका हुन्छन् ।

स्वस्थ डाइट महंगो हुन्छ

कुनै स्वस्थ खानेकुरा महंगो हुनसक्ला तर, सबै स्वस्थ खानेकुरा महंगो हुन्छ भन्ने छैन । पौष्टिक आहार भनेको धनीमनीका लागि मात्रै हो भन्ने ठूलो भ्रमले व्याप्त छ समाज । यो भ्रमलाई चिर्न जरुरी छ । उदाहरणका लागि महंगा ब्रेकफास्ट सिरियल्स भन्दा हाम्रै गाउँठाउँमा उपलब्ध मकै, कोदो, फापर, गहुँका परिकार सुपथ मूल्यमा पाइनुका साथै स्वस्थ पनि हुन्छन् । त्यस्तै, सागसब्जी र फलफूलबाट पनि कम पैसामा भरपूर पोषण पाइन्छ ।

‘फ्री फ्रम’ लेखिएका खानेकुराहरु स्वस्थ हुन्छन्

सामान्यतय सुगर फ्री, ग्लुटेन फ्री, ल्याक्टोज फ्री आदि लेखिएका खानेकुराहरु स्वस्थ हुन्छन् भन्ने विश्वास गरिन्छ । हरिया, नीला जस्ता प्राकृतिक रंगका प्याकेजिङ गरेर बेच्न राखेपछि उपभोक्ताहरु त्यस्ता उत्पादन स्वास्थ्यका लागि लाभदायी हुन्छ भन्ने कुरामा ढुक्क हुन्छन् । तर, सबैको हकमा यो कुरा साँचो होइन । यस्ता उत्पादनहरु ती व्यक्तिका लागि मात्र उपयुक्त हुन्छ जसलाई निश्चित तत्वसँग एलर्जी हुन्छ । सामान्य व्यक्तिका लागि ती तत्वहरु फलदायी पनि हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस