२०७७, १४ मङ्सिर आईतवार १७:२३

होशीयार ! जाडोमा हिटर वा आगो बालेर सुत्दा जान सक्छ ज्यान !

यसरी अपनाऔँ सावधानी


प्रकाशित मिति : २०७७, १४ मङ्सिर आईतवार १७:२३

काठमाडौं – चिसोयाम बढेसँगै धेरैलाई रुघाखोकी, टन्सील, निमोनिया, हाडजोर्नी दुख्ने लगायतका समस्याले सताउन थालेको छ । वृद्धवृद्धामा दमको समस्या देखिन थालेको छ । त्यसैले जाडोबाट बच्नको लागि धेरैले कोठा न्यानो बनाउन विभिन्न विद्युतिय उपकरण किनेका छन् ।

सक्नेले अलिक महँगो पैसा तिरेर विद्युतिय उपकरण खरिद गर्छन् । केहि स्थानमा मानिसहरु ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यो मौसममा यि यस्ता उपकरण चलाउँदा निकै सावधानी र होसीयारी अपनाउनुपर्छ । अघिल्ला वर्ष भएका अप्रिय केहि घटनाले पनि यो सोच्न बाध्य बनाउँछ । गुम्सीएर, निस्सासीएर, अक्सिजनको मात्रा नपुगेर एकै कोठामा परिवारका सदस्यको दुखान्त अन्त्य भएको घटनामा पनि कोठामा अक्सिजन कम भएको रिपोर्ट आएको थियो । तसर्थ विज्ञले दिएका यी सुझावहरु हेरौँ ।

  • जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा रातभर हिटर, कोईला, आगो, वा अन्य विद्युतिय उपकरण चलाएर सुत्नुहुँदैन । यस्ता उपकरणबाट निस्कने तापमा हुने कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसको कारण शरीरको कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र मुटुको चालमा पनि समस्या आई नोक्सानी पुग्छ ।

 

  • कसैले सुत्ने कोठाको छेउमा अँगेनामा वा कुनै बट्टामा आगो बालेर कोठा बन्द गरि छोडिदिन्छन् । यसो गर्दा कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै गई मानिस निस्सासीएर मृत्यु सम्म हुन सक्छ ।

-यस्ता उपकरणबाट निस्कने तापमा हुने कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसरी हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा मानिसलाई चक्कर लाग्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने , छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ । यस्तो बेलामा कोही कसैले थाहा नपाएमा सो व्यक्तिको अकस्मात् मृत्यु हुन्छ । त्यसैले भुलेर पनि यी उपकरण खुल्लै राखेर सुत्नु हुँदैन ।

  • जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कतिपय यस्तो विषाक्तताका कारण उपचारका ागि धाइरहेका हुन्छन् ।

 

  • हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धाविशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ ।

 

  • चिकित्सकका अनुसार राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । जानकार परिवारका सदस्यले सबैलाई बुझाउनुपर्छ ।

चिकित्सकका अनुसार यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिने । म्याद नाघेका ग्याँस सिलिन्डर बजारमा छ्यापछ्याप्ती भएका कारण आफ्नो भन्छाको उपकरणको मिति हेर्ने ।

प्रतिक्रिया दिनुहोस