काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष प्रचण्डले आफूप्रति पूर्वाग्रह साँधेको आरोप लगाएका छन् । ‘केही केसहरुमा मलाई जबर्जस्ती जोड्ने धृष्टता गर्नुले तपाईभित्र रहेको पूर्वाग्रह मात्रै दर्शाउँछ’, ओलीले शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई दिएको जवावी प्रस्तावमा भनिएको छ, ‘वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो ? ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो ? सबै स्पष्ट छैन र ? आफ्नै देशमा सुरक्षण मुद्रण प्रेस स्थापना गरेर डाटाहरुको सुरक्षा र वर्षेनी अर्बौंको स्रोत बाहिरिरहने अवस्था नियन्त्रण गर्न केही नीतिगत काम अगाडि बढेका छन् । तर यस विषयमा कुनै सम्झौता भएको छैन । सम्झौतै नभएको विषयमा मलाई जोड्नु भनेको हद दर्जाको पूर्वाग्रह मात्रै हो ।’
नेपाल ट्रस्ट मातहत रहेका सम्पत्तिहरुको व्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको उल्लेख गर्दै उनले विगतमा निकै सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरुलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको उल्लेख गरेका छन् । ‘यस सम्बन्धी श्वेतपत्र नै सार्वजनिक गरिएको छ ।
राज्यकोषमा करोडौँ आम्दानी थपिने यस्ता विषयमा तपाईको असन्तुष्टि कतै तपाई निकट कुनै व्यापारिक घरानाको स्वार्थ पूरा नहुँदाको चिन्ता त होइन ? स्वास्थ्य सङ्कटका बेला केही स्वास्थ्य सामग्री खरिदमा जोडिएको ओम्नी समूहका बारेमा अख्तियार र अदालतले अनुसन्धान अगाडि बढाइरहेकै छन् । नियमसम्मत ढङ्गले सार्वजनिक खरिद गर्नु पर्ने अधिकारीले गरेको खरिदमा अनियमितता भएको रहेछ भने दोषीले उन्मुक्ति पाउने छैनन् । तर यसलाई राजनीतिकरण गरेर तपाईले आफूभित्रको तुषमात्रै पोख्नुभएको छ’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘बजेटमा राजस्वका दररेट पहिल्यै चुहाइएको भन्ने आरोप फजुल हो ।
मैले त विगतमा भएका विभिन्न अपचलनहरुको उत्खनन गर्ने, दोषीहरुलाई कानूनी कार्बाहीको दायरामा ल्याउने र विगतमा फोहोर गरिएको स्थितिलाई सुधार्ने काम गरेको हुँ । सम्झौता गर्नेहरुलाई चोख्याउने र त्यसको उत्खनन गरेर कार्बाहीको दायरामा ल्याउनेलाई चााहिँ दोषी बनाउने ? विगतदेखिका अनेकौँ काण्डहरुमा वर्तमान सरकारलाई जबर्जस्ती मुछेर गरिने भ्रमपूर्ण प्रचारका पछाडि कसको हात छ भन्ने कुरा क्रमशः खुल्दै छ ।’
भ्रष्टाचारका थुप्रै विषय जनस्तरमा चर्चामा रहेको स्वीकार गर्दै ओलीले कतिपय मान्छेहरुले कतिपय विषयमा प्रचण्डलाई पनि जोड्ने गरेको आफूले पाएको उल्लेख गरेका छन् । ‘म त अख्तियार प्राप्त संस्थाले विधिसम्मत ढङ्गले गर्ने काममा राजनीतिक व्यक्तिहरु बोल्नु उचित हुँदैन भन्ने ठान्छु । यस्ता विषयमा प्रतिशोधको राजनीति गर्नु हुन्न, राज्यका सम्बन्धित अङ्गहरुलाई सुदृढ बनाएर कानुन बमोजिम टुङ्गोमा पु-याउनु पर्छ भन्ने मान्यता राख्छु’, ओलीले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार प्रसंगप्रति संकेत गर्दै भनेका छन् ।
ओलीले अगाडि भनेका छन्, ‘नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र ? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया