नेता सापकोटाले गरे शरीर दान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका नेता क्षितिज सापकोटा ‘किरण’ले जन्मदिनको अवसरमा शरीर दान गरेका छन् ।
सापकोटाले आफ्नो मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउने गरी शरीर दान गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार सापकोटाले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको एनोटोमी विभागमा पुगेर शरीर दान गर्ने मन्जुरी नामामा हस्ताक्षर गरेका हुन् ।

सो मन्जुरीनामामा एनोटोमी विभागका प्रमुख निर्जु रञ्जितले र विभागका तर्फबाट र सापकोटाले दानकर्ताका तर्फबाट हस्ताक्षर गरेका हुन् ।

तत्काकालीन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव समेत बनेका सापकोटा अहिले नेकपाको कास्की जिल्ला सदस्य र विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्यका रुपमा कार्यरत छन् ।

‘जिउँदो छँदासम्म परिवर्तन र आन्दोलनमै लाग्छु’, उनले भने, ‘मरेपछि पनि आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरुलाई काम लागोस् भनेर यो शरीर दान गर्ने निर्णयमा पुगेको हुँ ।’

शरीरका विभिन्न अंग दान गर्ने व्यक्तिहरु धेरै भएको पाइए पनि सम्पूर्ण शरीर दान गर्ने भने कमै हुने गरेको वीभागीय प्रमुख रञ्जितले जनाकारी दिए । उक्त विभागमा अहिलेसम्म सापकोटासहित १० जनाले शरीर दान गर्नेगरी मन्जुरीनामामा हस्ताक्षर गरिसकेका छन् ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?