काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गरेको आरोप लगाएका छन् ।
साथै उनले आफूले धर्म र पापमा विश्वास नगर्ने गरेको तर यस्ता आरोप सुन्दा भने कहिलेकाँही दुख लाग्ने गरेको बताएका हुन् ।
प्रचण्डले ल्याएको प्रस्तावको प्रत्युत्तरमा ओलीले साथीहरुले नै यस्ता घटिया पाप चिताउँदा यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, बेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रचण्डले यसअघि ल्याएको प्रस्तावमाथि लिखित जवाफ दिन ओलीले ल्याएको प्रस्तावमा भनिएको छ, ‘तपाईले मलाई शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ । म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ । तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ? यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, वेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? छातिमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ? अस्ति भर्खर मैले भनेको होइन– कि त यस विषयमा मलाई विश्वास गर्नुस्, म सकारात्मक टुङ्गो लगाउँछु । होइन भने मुख्य सरोकार राख्ने तपाई दुई पक्ष (तत्कालीन माओवादी र काङ्ग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु । तपाईले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?
मैले त तपार्ईहरुका सुझावलाई अक्षरशः कार्यान्वयन गरेको छु । सरकार प्रमुखको हैसियतमा पीडितहरुको सरोकार सुन्नका लागि राष्ट्रव्यापी छलफल र परामर्शको व्यवस्था गरेको छु । यस्तो संवेदनशील विषयमा सत्तापक्ष र विपक्षलाई एकै थलोमा उभ्याएर हरेक विषय सहमतिका आधारमा अगाडि बढाउने काम गरेको छु ।
यससँग सम्बन्धित संशोधन विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ । मैले अन्तर्राष्ट्रिय मञ्चहरुमा यसको समाधान नेपाल स्वयंले गर्ने र यसो गर्ने सामथ्र्य नेपालसँग रहेकोले यसलाई अनावश्यक रुपमा विवादित विषय नबनाउन आह्वान गरेको छु । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने बारेमा हाम्रा पाँचवटा नीतिगत आधारका बारेमा स्पष्ट पारेको छु । बेलाबेलामा यस विषयलाई लिएर हुने अनुचित वाह्य टिप्पणीको विधिवत प्रतिवाद गरेको छु ।
यसमा मलाई यत्ति भन्नु छ, यो ज्यादै संवेदनशील विषय हो । नेपालको प्रतिवद्धता र विश्वसनीयता जोडिएको, पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको । तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया