७३ वर्षमा घरमै नागरिकता

दमौली । तनहुँको देवघाट गाउँपालिका–३ निवासी ७३ वर्षीया माया गुरुङले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आएकी उनले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको बताए । नागरिकताको प्रमाणपत्र नहुँदा गुरुङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सक्नुभएको थिएन । गाउँपालिका अध्यक्ष थापाले अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिए ।

नागरिकताको प्रमाणपत्रसँगै गुरुङलाई चार÷पाँच महिनाका लागि पुग्ने खाद्यान्न सामग्री, भाडावर्तन र न्यानो कपडासमेत उपलब्ध गराइएको छ ।

कोरोना संक्रमणबाट महिलाको निधन

कोरोना संक्रमणका कारण तनहुँको ऋषिङ गाउँपालिका–८ की एक महिलाको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत ७८ वर्षीया ती महिलाको शुक्रवार राति मृत्यु भएको हो । उनमा मङ्सिर ११ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

व्यास नगरपालिकामा ६, भीमाद नगरपालिकामा पाँच, शुक्लागण्डकी नगरपालिकामा दुई, म्याग्दे गाउँपालिकामा दुई र आँबुखैरेनी गाउँपालिकामा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?