चार वर्षअघि अर्थात् आर्थिक वर्ष २०७३/७४ मा एक हजार रुपियाँ कर सङ्कलन गर्दा आन्तरिक राजस्व विभागको खर्च पाँच रुपियाँ ८८ पैसा हुन्थ्यो । गत आर्थिक वर्ष २०७६/७७ मा यस्तो खर्च त्यसको तुलनामा दुई रुपियाँभन्दा बढीले घटेर प्रतिहजार राजस्व सङ्कलनमा तीन रुपियाँ ६२ पैसा मात्र पुगेको छ । यसको अर्थ हो कर सङ्कलन गर्दा राज्यलाई जोगिने रकम बढेको छ ।
विभागका अनुसार कार्य क्षमतामा भएको सुधारले विगत केही वर्षयता कर सङ्कलन लागत निरन्तर घटिरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा प्रतिहजार लागत पाँच रुपियाँ २० पैसा रहेकामा लगत्तै २०७५/७६ मा चार रुपियाँ २१ पैसामा झरेको छ । कर सङ्कलन लागत घट्नुले विभागले लिएका सुधारका रणनीति सफल हुँदै गएको प्रमाणित हुने उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए ।
कर सङ्कलनमा प्रयोग भएको डिजिटल प्रविधिलगायत अन्य आन्तरिक सुधारका कामले लागत घटेको देखिन्छ, उनले भने। यद्यपि विकास खर्च नहुँदा गत आर्थिक वर्षमा भने एकैपटक लागत धेरै घटेको देखिएको उनले बताए । विकास खर्चको मात्राअनुसार पनि कर सङ्कलन लागत घटबढ हुने गर्छ तर पछिल्लो समय निरन्तर घट्नुमा विभागले गरेको सुधार नै प्रमुख कारण रहेको पाण्डेको दाबी छ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया