संक्रमितको उपचार निःशुल्क गर्न तीन निजी अस्पताललाई निर्देशन

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको आज अनुगमन गरे । नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड सङ्क्रमित बिरामीको उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको, अत्यधिक लिने, धरौटी रकम राख्नु पर्नेलगायतका गुनासा आएकाले अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोभिड बिरामीका आफन्तले मङ्सिर ८ गते अगाडिसम्म रु तीन लाखसम्म धरौटी राख्नु पर्ने, सरकारले तोकेकोभन्दा ज्यादा साधारण, सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउँदा १५ हजारदेखि रु ३० हजारसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए । भोजपुर हतुवागढी–४ का राजकुमार राईले आफ्नो फुपू संक्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा रु तीन लाख धरौटी माग भएकोमा भनसुनबाट ५० हजार धरौटी राखेको मुख्यमन्त्रीलाई जानकारी दिए । उनीहरुले अस्पतालबाट सेवा सुविधा भने राम्रो रहेको जानकारी गराए ।

सो अवसरमा मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई सङ्घीय सरकारको नीतिअनुसार मङ्सिर ३ गतेदेखि निजी क्षेत्रको कोभिड अस्पतालले सङ्क्रमित बिरामीको उपचार निःशुल्क गर्न निर्देशन दिए। उनले म उपचार गर्छु भन्ने बाहेक सङ्क्रमितको उपचारको खर्च सरकारले भुक्तानी दिने हुनाले सबैको उपचार निःशुल्क गर्न निर्देशन दिए ।

महामारीको यस समयमा कोरोनो नियन्त्रण, रोकथाम गर्नु हामी सबैको कर्तव्य भएकाले नागरिकलाई अकाल मृत्युबाट जोगाउन उपचार सेवालाई सहज र निःशुल्क गरिएको हुनाले सोहीअनुसार गर्न आग्रह गरे । उनले बिरामीका आफन्तबाट आएका गुनासासम्बन्धी अस्पताल जिम्मेवार पक्ष र प्रशासनसँग बसेर छलफल गरी सम्बोधन गर्ने बताए। सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्घीय सरकारको प्रोटोकलअनुसार निजी क्षेत्रको कोभिड अस्पतालले नागरिकलाई निःशुल्क उपचार उपलव्ध गराउनुपर्छ भने ।

अस्पतालका निर्देशक डा ज्ञानेन्द्र कार्कीले सरकारको परिपत्र अस्पष्ट रहेको हुनाले सक्षमबाहेक गरिब, असहायलाई स्थानीय निकायको पत्रअनुसार यही मङ्सिर ८ गतेदेखि निःशुल्क उपचार सेवा दिइरहेको बताए । उनले कोभिड सङ्क्रमित उपचारमा खट्ने चिकित्सकको मासिक दुई लाख २० हजार र स्टाफ नर्सलाई एक लाख २८ हजार तलब भुक्तानी दिएको बताउँदै सेवाअनुसार सरकारबाट पाउने रकम न्यून भएको गुनासो व्यक्त गरे ।

मुख्यमन्त्री राईले विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको र न्यूरो अस्पताल विराटनगर–९ को पनि आज निरीक्षण गरे । अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष बिरामीका आफन्तले नोबेल अस्पतालको सघन कक्षमा बिरामी भेट्न जाँदा प्रत्येक पटक दुई हजार मूल्य बराबरको पीपीई लगाउनु पर्ने प्रावधान राखेको र चिकित्सकबाट गुणस्तरीय सेवा सुविधा नपाएको गुनासो राखे । नोबेल अस्पतालले कोभिड बिरामीसँग दैनिक २० उपचार खर्च लिने गरेको छ भने न्यूरो अस्पतालले ३० हजार लिने गरेको छ ।

सो अवसरमा नोबेल अस्पतालका प्रबन्धक राजेश नेपालले सङ्घीय सरकारको निःशुल्क उपचारको पत्र नआएकाले शुल्क लिएको बताए । यसैगरी न्यूरो कोभिड अस्पतालले सङ्क्रमितसँग दैनिक ३० हजार उपचार सेवा लिइरहेको अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तले बताएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सङ्क्रमितको उपचार खर्च सरकारले दिने हुनाले अविलम्ब निःशुल्क उपचार सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?