स्वास्थ्य मन्त्रालयले भन्यो- ‘कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउनू’

काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ ।

शुक्रवार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउनको लागि निर्देशन दिएको हो ।

“कोरोना भाइरस (कोभिड १९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता आदेश, २०७७” बमोजिम जोखिममा काम गर्ने जनशक्तिहरुलाई मन्त्रालयले रकम निकाशा भइसकेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

शुक्रवार (आज) बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै उनले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ।

कोरोना महामारीको समयमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले त्यस्तो निर्देशन दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?