रेकर्डै रेकर्ड बनाएको शेयर साता कस्तो रह्यो ?

काठमाडौं । यस साता शेयर बजारले किर्तीमान कायम गरेको छ । नेप्से परिसुचक अल टाईम हाइमा छ भने करोबार रकममा पनि दिन प्रति दिन उछाल आइरहेको छ । यस साताको ५ कारोबार दिनमा एक दिन शेयरबजारमा सामान्य करोक्शन देखिएको थियो भने बाँकि ४ दिन भारी मात्रामा बजार बढेको थियो ।

गत साताको अन्तिम कारोबारदिन १७७८.१२ अंकमा बन्द भएको बजार यस साताको अन्तिम कारोबार दिन १८९३.२५ अंकमा बजार बन्द भएको छ । यस साता ४ दिन बढेको बजारमा ११५.१३ अंकको वृद्धिसँगै बजारले बुलिस ट्रेण्डको शुभारम्भ भएको छ ।

यस साता नेप्से परिसूचक मात्र होइन कारोबार रकमले पनि नयाँ किर्तीमानी उचाई हासिल गरेको छ । ५ कारोबार दिनमा २९ अर्ब ८५ करोड ७२ लाख ९८ हजार रुपैयाँ भन्दा धेरैकौ कारोबार भएको छ । जुन एकै सातामा यती धेरै कारोबार हुनु पनि नयाँ रेकर्ड हो । शेयर संख्याका आधारमा पनि नेप्सेले नयाँ उचाई हासिल गरेको छ । यस सातामा मात्र ७ करोड १७ लाख ८१ हजार ९ सय ८६ कित्ता शेयरको खदिबिक्री भएको छ ।

नेप्से परिसूचक निरन्तर उकालो लाग्दै गर्दा बजार पूँजीकरण पनि हालसम्मकै उच्च कायम भएको छ । यस साताको अन्तिम कारोबार दिन बजार बन्दहुँदा सम्म शेयर बजारको बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८४ हजार ७ सय ४० रुपैयाँ ५ पैसा कायम भएको छ ।

कस्तो थियो ५ करोबार दिन ?

आईतवार

गत बिहीवार ६ अर्ब ११ करोडभन्दा बढीको शेयर कारोबार हुदाँ ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा आइतवार करिब ७ अर्बको कारोबार भएको थियो । साताको पहिलो कारोबार दिन आइतवार २०१ ओटा कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको थियो । यो कारोबार ६३ हजार ५७० पटकको व्यापारमा भएको हो । आइतवार पनि कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको थियो । उक्त कम्पनीको ५७ करोड ९१ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सर्वाधिक कारोबार गर्दै आएको उक्त कम्पनीको शेयरमूल्य पनि वृद्धि भइरहेको थियो । आइतवार न्यूनतम १ हजार १०८ देखि अधिकतम १ हजार २०१ सम्ममा किनबेच भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८ ले बढेर रू. १ हजार १३८ पुगेको थियो । बिहीवार ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा बन्द भएको बजार आइतवार १ हजार ७९१ दशमलव २२ विन्दुदेखि खुला भएको थियो । यस दिन कारोबार खुला भएको १ घण्टा ५ मिनेटमा बजार १ हजार ८११ दशमलव ६४ विन्दुमा पुगेको थियो । बजार बन्द हुदाँ आइतवार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा अडिएको थियो ।

सोमवार

लगातार आठ कारोबार दिन बढेको शेयर बजार सोमवार भने सामान्य करेक्सन भएको थियो । यो दिन २ दशमलव ३८ अंक घटेर बजार करेक्सन भएको थियो । लगातार बढेको बजार सोमवारबाट भने लगानीकर्ताहरुले नाफा बुक गरेका थिए । बजार करेक्सन हुँदै अघि बढ्ने हुँदा संयमित भएर कारोबार गर्न जानकार लगानीकर्ताहरुले आग्रह गरेका थिए । कात्तिक २३ गतेदेखि शेयर बजारले निरन्तर गति लिइरहेको थियो । आइतवार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा बन्द भएको बजार सोमवार १ हजार ७८९ दशमलव ३६ विन्दुदेखि खुला भएको थियो । १ हजार ७९२ विन्दु पार गरेको सोमवारको बजार बन्द हुँदा १ हजार ७८० दशमलव ४३ विन्दुमा अडिएको थियो । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंक घटेर ३४४ दशमलव ९५ विन्दुमा झरेको थियो । निकै उतारचढाबका बिच सोमवार ४ अर्ब ७६ करोड २७ लाख ४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आइतवार करिब ७ अर्बको कारोबार भएको बजारमा सोमवार भने कारोबार रकममा पनि कमि आएको थियो । सोमवार १९९ कम्पनीको ४६ हजार २४० पटकको व्यापारमा १ करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर खरीदविक्री भएको थियो । यो दिन सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनीमा पहिलोमा नेपाल बैंक र दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको थियो । विगत लामो समयदेखि निरन्तर सर्वाधिक रकमको कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीलाई सोमवार भने नेपाल बैंकले उछिनेको थियो । सोमवार नेपाल बैंकको ३० करोड २२ लाख ७ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको थियो ।

मंगलवार

मंगलवार शेयर बजार पुनः उकालो लागेको थियो । सोमवार २ दशमलव ३८ अंक घटेर सामान्य करेक्सन भएको बजार मंगलवार २९ दशमलव ६८ अंक बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा पुगेको थियो । मंगलवार सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४२ अंक बढेर ३४९ दशमलव ३७ विन्दुमा पुगेको थियो । सोमवारको तुलनामा यस दिन कारोबार रकममा पनि वृद्धि भएको थियो । सोमवार ४ अर्ब ७६ करोड २७ लाख ४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलवार यो रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँ रहेको छ । १९६ ओटा कम्पनीको ४९ हजार ७८३ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर कारोबार भएको थियो । मंगलवार एनआईसी एशिया बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । २० प्रतिशत लाभांश सुरक्षित गर्ने दिन भएकाले पनि मंगलवार उक्त कम्पनीको ३७ करोड ३३ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको थियो ।

बुधवार

बुधवार नेप्से परिसूचक ६४ दशमलव ७० अंक बढेर १ हजार ८७४ दशमलव ८२ विन्दुमा पुगेको थियो । यस अवधिमा १९८ कम्पनीकोे ६ अर्ब ८१ करोड ७७ लाख ७४ हजार ९९४ बराबरको शेयर खरीदविक्री भएको थियो । करोबारमा आएका १९८ ओटा कम्पनीहरु मध्ये १८ ओटा कम्पनीको शेयरमूल्य घटेको, १३ ओटा कम्पनीको शेयरमूल्य स्थिर रह्यो भने १४१ ओटा कम्पनीको शेयरमूल्य बढेको थियो । कारोबारमा आएका १२ समूहहरुमध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक बढेको थियो । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव ९३ प्रतिशत बढेको थियो । एनएमबि लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको थियो भने आठ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको थियो । नेपाल टेलिकमको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ९ दशमलव ९२ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, शिवम् सिमेण्टको ९ दशमलव ८० प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ७७ प्रतिशत, ङादी ग्रुप पावरको ९ दशमलव ६८ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएको हो । त्यसैगरी, सर्वाधिक कारोबार गर्नेमा नेको इन्स्योरेन्सको संस्थापक शेयरको खरीदविक्री भएको थियो । कम्पनीको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको थियो । सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको थियो । कम्पनीको ३६ करोड ७३ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको थियो । नेप्से परिसूचक बढेसँगै ‘क’ वर्गको कम्पनीकोहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंक बढेर ३६२ दशमलव ३३ विन्दुमा पुगेको थियो । २०७३ साल साउन १२ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा १ हजार ८८१ दशमलव ४५ विन्दुमा पुगेको थियो ।

बिहीवार

२०७३ साल साउनको महिनामा नेप्से परिसूचक १८८१को ऐतिहासिक विन्दुमा थियो । सो विन्दु पश्चात हिजोको मिति सम्म पनि नेप्से १८८१ को विन्दुको लागि संघर्ष गरिरहेको थियो । तर बिहीवार अर्थात् २०७७ साल मंसिर ११ गते नेप्सेले १८८१ को प्रतिरोध विन्दुलाई उछिनेको थियो । बिहीवार नेप्से परिसूचक आहिले सम्मकै उच्च विन्दु १९२६ अंकको विन्दुलाई चुमेर फर्किएको थियो । शेयर बजारकै भाषामा भन्दा बिहीवारदेखि बजारमा बुलिस ट्रेण्ड शुरु भएको थियो । यो टे«ण्डका लागि लगानीकर्ताहरुले करिब ४ वर्षको पर्खिएका थिए । बिहीवार शेयर बजार परिसूचक नेप्से १८.४३ अंकले बढेको थियो । दोहोरो अंकले बढेको बजार इतिहासकै उच्च विन्दु १८९३.२५ अंकको विन्दुमा बन्द भएको थियो । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.५८ अंकले उकालो लाग्दै ३६५.१८ अंकको विन्दुमा बजार बन्द भएको थियो । बिहीवार २०१ कम्पनीको ७० हजार ३ पटकको कारोबारमा १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयरको खरिदबिक्रि हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९० रुपैयाँ ७८ पैसा बराबरको कारोबार भएको थियो । बिहीवार कारोबारमा आएका कम्पनी मध्य ४८ कम्पनीको मात्र शेयर मूल्य बढेको थियो भने ११७ कम्पनीको शेयर मूल्य घटेको थियो बाँकि ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?