जनकपुरधाम । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउतबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास निर्माणका विषयमा छलफल भएको छ । शहरी विकास मन्त्रालयका प्रदेश नं २ मा जारी विकास निर्माणका कार्यको स्थलगत निरीक्षण तथा अवलोकनमा रहेका मन्त्री श्रेष्ठले मुख्यमन्त्री राउतसँग विकास निर्माणको कार्यमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा पर्यटक आकर्षित गर्न सङ्घीय सरकारले ठोस पहल गर्नुपर्ने बताएका छन्। उनले जनकपुरधाममा ल्याण्डफिल साइट निर्माणका लागि मन्त्री श्रेष्ठसँग आग्रह गरेका थिए।
सो अवसरमा शहरी विकासमन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरीदेखि पर्सासम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गरिने जानकारी गराए । उनले आफ्नो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणका कार्यमा प्रदेश सरकारसँग समन्वय गरिने प्रतिबद्धता पनि व्यक्त गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया