यस्तो छ नेपालमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । परीक्षणअनुसार संक्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो समय एक हजार ४२७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ७९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ५७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ७८५ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६३७ महिला र ४४८ पुरुष छन् । त्यसमध्ये काठमाडौंमा सात हजार ६४४, ललितपुरमा एक हजार ४९४ र भक्तपुरमा ५८९ जना सक्रिय सङ्क्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?