अर्थमन्त्रीविरुद्ध गृहजिल्लामा कालोझण्डा, प्रदेश राजधानीसँग अर्थमन्त्रीको पद साटेको आरोप

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई बुधवार बिहानै गृहनगर बुटवलमा कालो झण्डा देखाइएको छ ।

दोस्रोपटक अर्थमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका पौडेललाई नेपाली कांग्रेसको भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बुटवलमा कालोझण्डा देखाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग अर्थमन्त्री पद साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड) मा कालोझण्डा देखाएका हुन् ।

रुपन्देहीको सैनामैनाका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै गरेका पौडेललाई कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

प्रदेशको राजधानी सार्न गरिएको षडयन्त्रका विरुद्ध पौडेलले देखाएको मौनताको विरोधमा कालो भण्डा प्रदर्शन गरिएको नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले बताए ।

नेकपा रुपन्देहीको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई नेपाली कांग्रेस रूपन्देहीले कालोझण्डा देखाएको भन्दै नेकपा रूपन्देहीले गम्भीर आपत्ति प्रकट गरेको छ । नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई कालोझण्डा देखाएकोमा आपत्ति जनाएको हो ।

नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उद्घाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेर कांग्रेसले आफूलाई यी सबै विकास प्रयासहरूको विपक्षमा खडा गर्न चाहेको त होइन, भनेर गम्भीर प्रश्न खडा भएको उल्लेख छ । यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ । नेपाल समाचारपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?