काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपालपर्यटन बोर्डले आज आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्रियामा उनले कोभिड–१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् । व्यसायीले पर्यटक आवागन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए । व्यसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन प्रवेशाज्ञा खुला गरे पनि धेरै पर्यटक आउँछन् भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गरे ।
उनले अन्य देशमा कोभिडपछि विमानस्थल नै बन्द भए पनि नेपालको विमानस्थल एक दिन पनि बन्द नभएको बताउँदै कोभिडपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार लाख मानिसले हवाइजहाज प्रयोग गरेको जानकारी दिए ।
मन्त्री भट्टराईले असोज ५ गतेदेखि नियमित आन्तरिक उडान शुरु गरेपछि हालसम्म चार हजार ८०४ उडान काठमाडौं बाहिर भएको, चार हजार ५५ काठमाडौं भित्रिएकोे जानकारी गराउँदै ती उडानमार्फत एक लाख ७५ जना काठमाडौंबाट बाहिरिएका र एक लाख ६९ हजार काठमाडौं भित्रिएको बताए ।
मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपालमा भने ४० प्रतिशत उडान भइरहेको बताए । उनले अन्तरराष्ट्रिय उडानमा दक्षिण एशियामा लचकता अपनाउने देश नेपाल भएको भन्दै भारतले सो पनि गर्न नसकेको उल्लेख गरे । नेपालको विमानस्थलमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेकोसमेत बताए ।
पर्यटन मन्त्रालयका सचिव यादव कोईरालाले पर्यटन खोल्नका लागि कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह गर्दै तद्अनुरुप सामूहिक छलफलबाट निष्कर्षमा पुगिने बताए ।
कार्यक्रममा ट्रेकिङ् एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया