सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । बैतडी, काठमाडौं, ललितपुर, झापा, मोरङ, पाल्पा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डास्थित सडकमा ना १ ज २१९६ नम्बरको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा सुर्नया गाउँपालिका-४ बस्ने ७५ वर्षीया कलावती चन्द लगायत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालक सहित ५ जनामध्ये ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि डडेलधुरा अस्पतालतर्फ पठाइएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ पिपलामोड ढलानस्थित सडकमा बा ६ ख ९७४८ नम्बरको गुडिरहेको ट्रकबाट ओर्लने क्रममा खुट्टा चिप्लिएर टायर मुनी पर्दा ट्रकका साहु सुनसरी बाराह क्षेत्र नगरपालिका-११ बस्ने ३४ वर्षीय योगेन्द्र बिष्टको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-१७ ग्वार्को चोक नजिक सडकमा बा २ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री तनहुँ घर भएका ४२ वर्षीय भेष बहादुर बिश्वकर्माको मंगलबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनकोग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, ललितपुर महानरगपालिका-८ बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक सडकमा ना १ ज ३६७७ नम्बरको टाटासुमो गाडीले मंगलबार राति साईकललाई ठक्कर दिँदा साइकलयात्री हाल नाम, थर, नखुलेका करिब ३४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा प्र।१-०१-०१२ प ५८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय जगत बहादुर पाण्डेको मंगलबार साँझ मृत्यु भएको छ । आइतबार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडास्थित सडकमा को२ त ८५६ नम्बरको ट्याक्टरले को२८ प ८९६७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय हेम कुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको कहटरी गाउँपालिका-१ स्थित भित्रि सडकमा को।२ ह ५४९२ नम्बरकोअटोबाट लडेर अटो चालक बिराटनगर महानगरपालिका-२ बस्ने ३५
वर्षीय सुनिल मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी मोरङको विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टस्थित सडकमा को३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई मंगलबार दिउँसो ठक्कर दिँदा साईकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै मोरङको सुन्दर हरैचा नगरपालिका-६ दुलारीस्थित सडकमा को३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सुन्दर हरैचा नगरपालिका-४ मा डेरा गरी बस्ने बिराटनगर महानगरपालिका-१२ घर भएकी २५ वर्षीया कल्पना यादबको १५ दिनको छोरा देब यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको रैनादेबी छहरा गाउँपालिका-६ चहला सिमलस्थित सडकमा लु३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करबि १० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक रैनादेबी छहरा गाउँपालिका-६ चहला बस्ने १९ वर्षीय रमन भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ झिलस्थित सडकमा सुदूर पश्चिम प्रदेश०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?