न्यायाधीशको विवादास्पद फैसलाले यो अर्को बालिकाको ज्यान

जिल्ला अदालत महोत्तरीले गत जेठमा गरेको ‘शंकास्पद’ आदेशका कारण थुनामा रहनुपर्ने एक आरोपितले अर्को हत्या गरेका छन् । व्यक्ति हत्याको आरोप लागेका अरुणकुमार साहलाई एक लाख धरौटीमा छाड्दा उनले बालिकाको हत्या गरेका हुन् ।
यस्तो विवादास्पद आदेश गर्ने न्यायाधीश सुमनकुमार न्यौपाने हुन् । न्यौपाने अहिले महोत्तरीबाट सरुवा भइसकेका छन् ।

साहले गत वैशाखमा मदिरापानपछि दिलीप ठाकुरको हत्या गरेका थिए । टाउकोमा लाठीले प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि फरार भएका साह धनुषामा पक्राउ परे । उनले प्रहरीसँगको बयानमा आरोप पनि स्विकारे । जन्मकैदको सजायसहित क्षतिपूर्तिको माग राख्दै दायर गरेको मुद्दामा प्रहरीले उनीविरुद्ध पर्याप्त प्रमाण जुटाएको थियो । तर न्यायाधीश न्यौपानेले थुनामा राखी प्रक्रिया अघि बढाउनुपर्ने प्रकृतिको मुद्दामा धरौटीमा छाड्ने विवादास्पद आदेश गरिदिए । त्यही आदेशको भरमा बाहिर निस्केका उनले आइतबार ६ वर्षीया बालिकाको हत्या गरेका हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलबसा खातुन र उनकी ४ वर्षकी बहिनी आपसा आइतबार दिउँसो साढे ३ बजे चकलेट किन्न निस्किए । आमा सविनाले दिएको १० रुपैयाँले छिमेकी अरुणकुमार साहको पसलबाट चकलेट किनेर दुवै घर फर्किए तर गुलबसा फेरि घरबाट निस्किइन् । अबेरसम्म नफर्किएपछि आमा र बुबा साहिदले छोरी हराएको भन्दै टोलमा खबर गरे । स्थानीयले गाउँघर र जंगलमा समेत राति अबेरसम्म खोजी गरे तर बालिका फेला परिनन् । सोमबार राति बोरामा कोचिएको अवस्थामा उनको शव भेटिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?