वुहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

काठमाडौं । छैटौँ उद्योग दिवसका अवसरमा चीनको वुहानमा कोभिड–१९ संक्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । प्रेमसिद्धि प्रालि काभ्रेपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चीनको वुहानमा कोरोना फैलिई समस्या भएका बेला प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो ।

दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गरेका छन् । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैलाश पलाञ्चोके, घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठलगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गरेको कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले राससलाई जानकारी दिए। सो अवसरमा कार्यालयबाट तालीम लिई विभिन्न घरेलु सामग्री निर्माण गरेका व्यवसायीले एकदिने प्रदर्शनीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?