बन्द रहेका नेपाल-भारत सीमा खुलाउन जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ ।

जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेको हो ।

लामोसयदेखि सीमा नाका बन्द गरिएको कारणले देशको अर्थतन्त्र धाराशायी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्ठटर हुन गएको छ । जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार रोजगारी, आर्थिक, समाजिक लगायतका क्षेत्रमा गम्भीर समस्या भएको जसपाले जनाएको छ ।

जनताको जीवनलाई थप कष्टकर हुन नदिनका लािग सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्न सरकारसँग माग गरेको छ ।

कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र ओषधी आदिलाई उचित एवं आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ । विगत नौ महिनादेखि सीमा नाका बन्द रहेको कारण सीमा क्षेत्रका जन जीवन प्रभावित भएको छ । त्यसलाई खुलाउनका लागि सीमा क्षेत्रमा संघर्षका कार्यक्रमहरु पनि भइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?