मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन शुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन शुरु गरेको हो ।

चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम शुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । सरकारले घोषणा गरेअनुसार लक्षीत समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनाले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे । कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहेपनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए । उनले स्थानीय स्तरबाट नै कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तानतरण गरेको छ । सोही मोबाइल भ्यानबाट स्वाव संकलन गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?