चितवन घटनालाई लिएर नारायणकाजी विरुद्ध खनिए सुर्य थापा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी भएको घटनालाई लिएर नेताहरुबीच आरोप प्रत्यारोप बढेको छ ।

शनिवार पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेविरुद्ध उनकै निर्वाचन क्षेत्रमा भएको पार्टीको कार्यक्रममा नाराबाजी भएको थियो ।

उक्त घटनालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पार्टी एकताको पक्षमा नाराबाजी लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै पार्टी प्रवक्ता एवम् स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठ विरुद्ध खनिएका छन् ।

पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य रहेको प्रवक्ता श्रेष्ठले बताएका थिए ।

त्यसको प्रतिउत्तरमा थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे भन्दै व्यंग्य गरेका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्, “बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे !

चितवनमा भएको घटना पार्टी एकताको नारा मात्र लगाएको थापाको जिकिर रहेको छ । दुवै (श्रेष्ठ र पाण्डे) स्थायी कमिटि सदस्य रहेको तर गुटगत अन्तदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी भन्दै तब न नारायणकाजी भन्दै आलोचना गरेका छन् ।

चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ-गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !” उनले भने ।

यता प्रवक्ता श्रेष्टले चितवनको घटनालाई प्रोत्साहित गर्दा कम्युनिष्ट आन्दोलन मात्रै नभएर कसैको पनि हित नगर्ने चेतावनी दिएका थिए ।

आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस्।” श्रेष्ठले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?