सुरेन्द्र पाण्डेमाथि हमला, बोले झलनाथ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको अभद्र व्यवहारको घटनाको भत्सर्ना गरेका छन् ।

खनालले शनिबार एक विज्ञप्तिमार्फत कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय रहेको बताएका छन् ।

‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणबसमेत गराउँछु’, खनालले विज्ञप्तिमार्फत भनेका छन् ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन् ।

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहेका पाण्डेमाथि राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई भाषण गरिरहेको बेला भएको अभद्र व्यवहार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?